कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत
कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत
हिंसाको सिकार भएका महिलाहरूलाई मदत गर्न के गर्न सकिन्छ? सर्वप्रथम, तिनीहरूले कस्तो समस्याको सामना गर्नुपरिरहेको छ सो बुझ्नुपर्छ। कुटपिट गर्नेहरूले अक्सर शारीरिक हानि मात्र पुऱ्याइरहेका हुँदैनन्। तिनीहरूले प्रायः मौखिक दुर्वचन र धम्की दिने गर्छन्, जसले गर्दा दुर्व्यवहारको सिकार हुने व्यक्तिले आफूलाई मूल्यहीन र निस्सहाय ठान्छन्।
रोक्सानालाई विचार गर्नुहोस्, जसको व्यथा सुरुको लेखमा वर्णन गरिएको थियो। कहिलेकाहीं उनको पतिले हतियार जस्तै घातक शब्दहरू बोल्छन्। रोक्साना आफ्नो मनको बह यसरी पोख्छिन्, “उहाँ मलाई होच्याएर जे मन लाग्यो त्यही नाउँले बोलाउनुहुन्छ।” उहाँ यसो भन्नुहुन्छ: “तैंले त स्कूलको पढाइसमेत सकाएकी छैनस्। के मविना तँ छोराछोरी हुर्काउन सक्छेस्? तँ अल्छे र केही काम नलाग्ने आमा होस्। तैंले मलाई छोडिस् भने के तँ जस्ती आमालाई अदालतले छोराछोरीको जिम्मा लगाउला र?”
रोक्सानाको पतिले पैसाको सन्दर्भमा कन्जुस्याइँ गरेर आफ्नो नियन्त्रण जमाउँछन्। तिनले उनलाई गाडी प्रयोग गर्न दिंदैनन्, उनी के गर्दैछिन् भनेर जान्न दिनभरि नै घरी-घरी घरमा फोन गरिरहन्छन्। यदि उनले आफूलाई मन लागेको कुरा बताएमा तिनी झोक्किहाल्छन्। त्यसैकारण, रोक्साना आफ्नो मनको कुरा कहिल्यै बताउँदिनन्।
पत्नीमाथि गरिने दुर्व्यवहार एउटा निकै जटिल विषय हो भनी हामी यसबाट बुझ्न सक्छौं। मदत अनि प्रोत्साहन दिनको लागि तिनीहरूको कुरा अनुकम्पासहित सुन्नुहोस्। आफूले भोगिरहेको दुर्व्यवहारबारे कुरा गर्न अक्सर पीडित व्यक्तिलाई निकै गाह्रो पर्छ भन्ने कुरा नबिर्सनुहोस्। तपाईंको लक्ष्य पीडितलाई बलियो बनाउने हुनुपर्छ ताकि तिनले आफैले परिस्थितिको सामना गर्न सकोस्।
कुटपिटको सिकार भएका केही महिलाहरूले सम्बन्धित निकायको मदत खोज्नुपर्ने हुनसक्छ। कहिलेकाहीं गम्भीर परिस्थितिमा प्रहरी वा अन्य कुनै स्रोतबाट मदत लिंदा दुर्व्यवहार गर्ने व्यक्तिले आफ्नो कार्यको गम्भीरताबारे बुझ्नसक्छन्।
(पृष्ठ ९ को बाँकी भाग)तर यो कुरा पनि साँचो हो कि, त्यस्तो घटना घटेको केही दिनमै दुर्व्यवहारीले आफ्नो मनोवृतिमा परिवर्तन ल्याउनुपर्ने कुरा बिर्सिहाल्छन्।
के कुटपिटको सिकार भएकी महिलाले आफ्नो पतिलाई छोड्नु उपयुक्त हुन्छ? बाइबलले वैवाहिक सम्बन्धलाई गम्भीरतासाथ लिन्छ। यद्यपि, आफ्नो स्वास्थ्य अनि जीवनलाई नै खतरामा पार्ने पतिसित बस्नैपर्छ भनेर यसले कुटपिटको सिकार भएकी महिलालाई बाध्य तुल्याउँदैन। मसीही प्रेरित पावलले यस्तो लेखे: “तर छुट्टेर बसी भने त्यसले विवाह नगरी बसोस्, अथवा पतिसित मिलापमा बसोस्।” (१ कोरिन्थी ७:१०-१६) गम्भीर परिस्थितिहरूमा छुट्टिएर बस्न बाइबलले निषेध नगरेको कारण महिलाले यस्तो परिस्थितिमा जे निर्णय गर्छ, त्यो उसको व्यक्तिगत निर्णय हो। (गलाती ६:५) पत्नीलाई उसको पतिसित छुट्टिएर बस्ने सल्लाह कसैले दिनु उपयुक्त हुँदैन न त उसको स्वास्थ्य, जीवन र आध्यात्मिकतामाथि खतरा आइपर्दा दुर्व्यवहार गर्ने पतिसित सँगै बस्ने सल्लाह दिनु उपयुक्त हुन्छ।
के दुर्व्यवहारीको लागि कुनै आशा छ?
पत्नीलाई गरिने दुर्व्यवहार बाइबल सिद्धान्तअनुसार जघन्य अपराध हो। एफिसी ४:२९, ३१ ले यसो भन्छ: “केही कुवाक्य तिमीहरूका मुखबाट ननिस्कोस्, . . . सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्।”
ख्रीष्टको अनुयायी हुँ भनी दाबी गर्ने कुनै पनि पतिले आफ्नो पत्नीलाई दुर्व्यवहार गर्छ भने उसले कुन मुखले आफ्नो पत्नीलाई प्रेम गर्छु भनी भन्न सक्छ! यदि तिनले आफ्नो पत्नीलाई दुर्व्यवहार गर्छ भने तिनले गरेका अन्य असल कार्यहरूको के नै महत्त्व रहन्छ र? यस्तो “मारपिट” गर्ने व्यक्ति मसीही मण्डलीमा कुनै पनि विशेष सुअवसर पाउने योग्यको हुँदैन। (१ तिमोथी ३:३; १ कोरिन्थी १३:१-३) साँच्चै भन्ने हो भने, आफूलाई मसीही भन्ने कुनै पनि व्यक्ति यदि अत्यन्तै रिसाहा र रिसलाई नियन्त्रणमा राख्न नसक्ने छ र पश्चात्तापी मनोभाव पनि देखाउँदैन भने त्यो व्यक्ति मसीही मण्डलीबाट बहिष्कार हुनसक्छ।—गलाती ५:१९-२१; २ यूहन्ना ९, १०.
के हिंसात्मक व्यक्तिहरूले आफ्नो आचरण परिवर्तन गर्नसक्छन्? कसै-कसैले गरेका छन्। यद्यपि, साधारणतया जबसम्म दुर्व्यवहार गर्ने व्यक्तिले (१) आफ्नो आचरण गलत हो भनेर स्वीकार्दैन, (२) आफूलाई सुधार्न चाहँदैन र (३) मदत खोज्दैन, तबसम्म त्यो व्यक्ति परिवर्तन हुन सक्दैन। यस्ता व्यक्तिहरूलाई परिवर्तन गर्न बाइबल शक्तिशाली साबित भएको कुरा यहोवाका साक्षीहरूले अनुभव गरेका छन्। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने धेरै जिज्ञासु व्यक्तिहरूले परमेश्वरलाई खुसी तुल्याउने बलियो चाहना विकास गरेका छन्। “अत्याचार निको मान्नेलाई उहाँको आत्माले घृणा गर्छ” भनी यी नयाँ बाइबल विद्यार्थीहरूले यहोवाबारे सिक्छन्। (भजन ११:५) निस्सन्देह, कुटपिट गर्नेहरूले आफ्नो आचरणमा परिवर्तन ल्याउनु भनेको कुटपिट गर्न छोड्नु मात्र होइन। तिनले आफ्नो पत्नीप्रति पूर्णतया नयाँ दृष्टिकोण राख्न सिक्नुपर्छ।
जब कुनै मानिसले परमेश्वरको ज्ञान प्राप्त गर्छ तब तिनले आफ्नो पत्नीलाई नोकरको रूपमा होइन तर एक जना “सहयोगी[को]” रूपमा र हेला गर्न होइन तर ‘आदर गर्न’ सिक्छन्। (उत्पत्ति २:१८; १ पत्रुस ३:७) तिनले अनुकम्पा देखाउन सिक्नुका साथै आफ्नो पत्नीको विचारधारा सुन्नुपर्ने आवश्यकतालाई बुझ्छ। (उत्पत्ति २१:१२; उपदेशक ४:१) यहोवाका साक्षीहरूले सञ्चालन गर्ने बाइबल अध्ययन कार्यक्रमले धेरै दम्पतीहरूलाई मदत गरेको छ। तानाशाह, निरंकुश वा हुल्याहा व्यक्तिको लागि मसीही परिवारमा कुनै स्थान छैन।—एफिसी ५:२५, २८, २९.
“परमेश्वरको वचन जीवित र प्रबल छ।” (हिब्रू ४:१२) त्यसैले, बाइबलमा भएको बुद्धिले दम्पतीहरूलाई तिनीहरूले सामना गर्ने समस्यालाई विश्लेषण गर्न मदत गर्नुका साथै ती समस्याहरूसित लड्न साहस प्रदान गर्छ। योभन्दा पनि अझ ठूलो कुरा त, यहोवाले नियुक्त गर्नुभएको राजाले स्वर्गबाट सबै आज्ञाकारी मानवजातिमाथि शासन गर्नुहुँदा हिंसाविनाको संसार हेर्न पाउने पक्का अनि सान्त्वनादायी आशा बाइबलमा छ। बाइबल यसो भन्छ: “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दु:खीहरूलाई उसले छुटकारा दिनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ।”—भजन ७२:१२, १४. (g01 11/8)
[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]
तानाशाह, निरंकुश वा हुल्याहा व्यक्तिको लागि मसीही परिवारमा कुनै स्थान छैन
[पृष्ठ ८-मा भएको पेटी]
गलत धारणाहरूलाई सच्याउँदै
• पतिहरूले पत्नीहरूलाई कुटपिट गर्नुको कारण स्वयम् पत्नीहरू नै हुन्।
पत्नीले नै पहिला निहुँ खोजेको दाबी गर्दै कुटपिट गर्ने अधिकांश व्यक्तिहरूले आफूले गरेको दुर्व्यवहारको दोषी आफूलाई ठान्दैनन्। परिवारका केही मित्रहरूले समेत पत्नी नै अर्घेली स्वभावकी हुने भएकीले कहिलेकाहीं पतिले जथाभावी व्यवहार गर्नु कुनै अचम्मलाग्दो कुरो होइन भन्ने सोचाइ राख्छन्। तर यसो गर्नु भनेको पीडितलाई दोष लगाउनु र पीडा दिने व्यक्तिलाई समर्थन गर्नु बराबर हो। साँच्चै भन्ने हो भने, कुटपिटको सिकार भएका पत्नीहरूले आफ्नो पतिलाई मनाउन सक्दो प्रयास गर्छन्। यसबाहेक, आफ्नो जीवनसाथीलाई कुट्नु भनेको कुनै पनि हालतमा उचित होइन। द बेटरर्—अ साइकोलोजिकल प्रोफाइल नामक पुस्तक यसो भन्छ, “अदालतले उपचारको लागि पठाउने गरेका पत्नीलाई दुर्व्यवहार गर्ने पुरुषहरूलाई प्रायः हिंसात्मक व्यवहार गर्ने बानी परिसकेको हुन्छ। तिनीहरू हिंसालाई रिस अनि नैराश्यबाट उम्कने उपाय, झगडालाई वशमा राख्ने वा ठेगान लगाउने तरिका अनि तनाउ कम गर्ने माध्यम हो भन्ठान्छन्। अक्सर, तिनीहरूले आफूलाई दोषी महसुस गर्दैनन् वा समस्यालाई गम्भीरतासाथ लिंदैनन्।”
• रक्सीले गर्दा पनि पतिले आफ्नी पत्नीलाई कुट्छ।
हो, रक्सी पिएको बेला केही पुरुषहरू बढी नै हिंसात्मक हुन्छन्। तर के रक्सीलाई नै दोष दिनु मिल्छ र? लेखिका के. जे विल्सन आफ्नो पुस्तक ह्वेन भ्वाइलेन्स बिगिन्स् एट होम-मा यस्तो लेख्छिन्, “रक्सीले मात्तिएर कुटपिट गर्ने व्यक्तिले आफूले गरेको दुर्व्यवहारको दोष रक्सीलाई दिन्छन्।” तिनी अझै यसो भन्छिन्, “हाम्रो समाजमा रक्सीले मात्तिएर गरिने घरेलु हिंसाले गर्दा त्यसलाई सहज रूपमा लिइन्छ। दुर्व्यवहारको सिकार भएकी महिलाले आफ्नो पतिलाई दुर्व्यवहारी नभई पियक्कड वा जँड्याहा मात्र हुन् भन्ठान्छिन्। यस्तो सोचाइले गर्दा महिलाहरू “पुरुष पियक्कड हुन छोडेमा हिंसा हुन पनि बन्द हुन्छ” भन्ने झूठो आशामा पर्नसक्छन् भनी विल्सन औंल्याउँछिन्।
हालै, थुप्रै अनुसन्धानकर्ताहरूले रक्सी पिउनु अनि कुटपिट गर्नुलाई दुई अति बेग्लाबेग्लै समस्याको रूपमा लिन्छन्। आखिर, प्रायजसो दुर्व्यसनी पुरुषहरूले आफ्नो पत्नीलाई कुटपिट गर्दैनन्। ह्वेन मेन बेटर वुमेन शीर्षक पुस्तकका लेखकहरू यसो भन्छन्, “वास्तवमा कुटपिटको सिकार भएका महिलाहरूलाई नियन्त्रणमा राख्न, तर्साउन अनि दबाउन सफल भएको कारण नै कुटपिट गर्ने कार्यले निरन्तरता पाइरहेको छ। . . . रक्सी र लागू पदार्थको दुर्व्यसन कुटपिट गर्ने व्यक्तिको जीवनशैलीका भाग हुन्। तर रक्सी वा लागू पदार्थको प्रयोगले गर्दा नै हिंसा हुन्छ भन्नु गलत हुनेछ।”
• कुटपिट गर्ने व्यक्तिहरूले सबैसित हिंसात्मक व्यवहार गर्छन्।
अक्सर कुटपिट गर्ने व्यक्तिहरू पनि अरूको राम्रो मित्र बन्नसक्छन्। उसले राम्रो र नराम्रो दुवै रूप देखाइरहेको हुन्छ। त्यसैकारण, परिवारका मित्रहरूलाई उसले गरेको हिंसात्मक व्यवहार विश्वास गर्न गाह्रो हुनसक्छ। तथापि साँचो कुरा के हो भने, पत्नीमाथि कुटपिट गर्ने व्यक्तिले आफ्नो पत्नीलाई दबाउन क्रूर तरिका अपनाउँछ।
• महिलाहरूले दुर्व्यवहारको विरोध गर्दैनन्।
साहाराको लागि कतै जान नसक्ने महिलाहरूको परिस्थितिलाई नबुझेर यस्तो धारणा राखेको जस्तो देखिन्छ। कुटपिटको सिकार भएका महिलाहरूलाई दुई चार दिन त आफ्ना मित्रहरूले आश्रय देलान् तर त्यसपछि के गर्ने? जागिर खोज्नु, घरको भाडा तिर्नु अनि छोराछोरी हुर्काउने कुरा सोच्दा मात्र पनि त्यसले उसलाई निरुत्साहित पार्नसक्छ। छोराछोरी लिएर भाग्न कानुनले निषेध पनि गर्नसक्छ। कसै-कसैले भाग्ने प्रयास नगरेका होइनन् तर तिनीहरूलाई जबरजस्ती वा फकाइ फुस्ल्याइ फर्काइयो। परिस्थितिलाई राम्ररी नबुझ्ने मित्रहरूले यस्ता महिलाहरू आफूमाथि भएको दुर्व्यवहारको विरोध गर्दैनन् भन्ने धारणा राख्नसक्छन्।