आमा र उहाँका दस छोरीहरू
आमा र उहाँका दस छोरीहरू
एस्तर लोसानोको वृत्तान्तमा आधारित
हाम्रो आमाबुबा दुवैको जन्म बिट्लिस, टर्कीमा भएको थियो। उहाँहरूको आमाबुबा आर्मेनियाली हुनुहुन्थ्यो। गत शताब्दीको सुरुतिर आर्मेनियालीहरूको व्यापक आमहत्या हुँदा हाम्रो बुबा टर्की छोडेर संयुक्त राज्यतर्फ लाग्नुभयो। त्यतिबेला उहाँ लगभग २५ वर्षको हुनुहुन्थ्यो। हाम्री आमा सोफिया पनि बुबा जानुभएको केही समयपछि उतैतिर लाग्नुभयो। त्यतिखेर उहाँ १२ वर्षको हुनुहुन्थ्यो।
यसो कुरा बुझ्दा, आमालाई दुवै परिवारको सहमतिमा हाम्रो बुबा, आराम भारतानियनसँग विवाह गर्न संयुक्त राज्य पठाइएको रहेछ। सोफिया फ्रेस्नो, क्यालिफोर्निया पुग्दा विवाह गर्ने उमेरको भइसकेकी थिइनन्। त्यसैले, उहाँको विवाह गर्ने उमेर नभएसम्म उहाँ आफ्नो हुनेवाला सासुसँगै बस्नुभयो।
हाम्रो आमाबाबुको पहिलो सन्तान छोरा थियो, जसको नाउँ उहाँहरूले आन्ड्रानिग राख्नुभयो तर पछि दाइले आफ्नो नाउँ फेरेर बार्नी राख्नुभयो। उहाँको जन्म अगस्त ६, १९१४ मा भएको थियो। त्यसपछिका दस जना बच्चा सबै छोरी थिए। सन् १९२४ मा शिल्ड टुट्यानले फ्रेस्नोमा आर्मेनियाली समुदायलाई दिनुभएको भाषण सुनेपछि बुबा बाइबल स्टुडेन्ट्स हुनुभयो। त्यतिबेला यहोवाका साक्षीहरू त्यो नाउँले चिनिन्थे। पछि, हाम्रो सम्पूर्ण परिवार सँगै मसीही सभाहरू धाउन थाल्यो।
सन् १९३१ मा हामी ओकल्याण्ड, क्यालिफोर्निया सऱ्यौं र त्यहाँको मण्डलीसँग संगत गर्न थाल्यौं। दाइ बार्नीले १९४१ मा आफ्नो मृत्यु नहोउञ्जेल नापा, क्यालिफोर्नियामा विश्वासीपूर्वक
यहोवाको सेवा गर्नुभयो। बार्नीपछि जन्मेका छोरीहरूमध्ये म साहिंली थिएँ र मैले १९३५ मा यहोवालाई आफ्नो जीवन समर्पण गरें। हाम्री दिदी एग्नेस सभाहरू जान थालेको झन्डै ७५ वर्ष भइसक्यो तर उहाँले बप्तिस्मा लिनुभएको केही वर्ष मात्र भयो! उहाँको बप्तिस्माको निम्ति हामी सबै दिदीबहिनी उपस्थित थियौं र दस छोरीमध्ये बाँकी एक जनाले पनि बप्तिस्मा लिंदा हामी अत्यन्तै हर्षित भयौं।दुःखको कुरा, त्यतिबेला आमा उपस्थित हुनुहुन्नथ्यो। उहाँको ठीक एक वर्षअघि १०० वर्ष र २ दिनको उमेरमा मृत्यु भएको थियो। उहाँको मृत्युबारे क्यालिफोर्नियाको अखबार हेवर्ड न्युज-ले मे १४, १९९६ मा रिपोर्ट गरेको थियो। उक्त अखबारको लेखको एउटा भागमा यस्तो उल्लेख गरिएको थियो, “यहोवाको साक्षीको रूपमा उहाँले जिज्ञासु व्यक्तिहरूलाई बाइबलका कुरा सिकाएर ५४ वर्ष स्वेच्छाले समुदायको सेवा गर्नुभयो।” त्यस लेखमा हाम्रो बहिनी एलिजाबेथको कुरा पनि उद्धृत गरिएको थियो। त्यहाँ तिनले यसो भनेकी थिइन्: “उहाँको घर पाहुनाहरूको निम्ति सधैं खुला हुन्थ्यो र थप एक जना मानिसको निम्ति सधैं खाना हुन्थ्यो। . . . उहाँ सधैं यसो भन्ने गर्नुहुन्थ्यो, ‘कडा कफी पिउन आउनुहोस्’ र उहाँको प्रख्यात बाकलाभा केक बनाएको दिन पऱ्यो भने त झनै सोह्रमा सत्र हुन्थ्यो।”
हाम्रो सबैभन्दा जेठी दिदी ८५ वर्षको हुनुभयो र सबैभन्दा कान्छी बहिनी ६६ वर्षकी भई। हामी सबै सक्रिय साक्षीहरू हौं। हामी दस जनामध्ये तीन जनाले वाचटावर बाइबल स्कूल अफ गिलियडबाट स्नातक गरेपछि मिसनरीको रूपमा सेवा गऱ्यौं। अहिले न्युपोर्ट बिच, क्यालिफोर्नियामा बस्ने एलिजाबेथ, स्कूलको १३ औं कक्षामा थिइन् र तिनले पाँच वर्ष पेरूको कालोओमा सेवा गरिन्। रूथ ३५ औं कक्षामा थिइन्। तिनी र तिनको श्रीमान् आल्भिन स्टोफरले अस्ट्रेलियामा पाँच वर्ष मिसनरीको रूपमा सेवा गरे। म गिलियडको चौथौं कक्षामा थिएँ र १९४७ मा मेक्सिको जाने असाइन्मेन्ट पाएँ। त्यहाँ मैले १९५५ मा रोडोल्फो लोसानोसँग विवाह गरें। a हामी दुवै जना त्यतिबेलादेखि मेक्सिकोमा सेवा गर्दैछौं।
हामी दस दिदीबहिनी अहिलेसम्म स्वस्थ रहनसकेकोमा अत्यन्तै कृतज्ञ छौं। यसले हामीलाई पूरा मन, हृदय अनि बलले यहोवाको इच्छा भएसम्म उहाँको अहिले र नयाँ संसारमा सधैंभरि सक्दो सेवा गरिरहन मदत दिन्छ। (g01 10/22)
[फुटनोट]
a तिनको अनुभव जनवरी १, २००१ अंकको प्रहरीधरहरा-मा पढ्न सकिन्छ।
[पृष्ठ १८-मा भएको चित्र]
एग्नेस आफ्नो बप्तिस्माको दिनमा, १९९७
[पृष्ठ १९-मा भएको चित्र]
एलिजाबेथ, गिलियडबाट स्नातक भएको दिन, १९४९
[पृष्ठ १९-मा भएको चित्र]
एस्तर (दायाँमा) मेक्सिको शाखा कार्यालयमा, १९५०
[पृष्ठ १९-मा भएको चित्र]
रूथ र आल्भिन स्टोफर मेक्सिको शाखा कार्यालयमा अन्तरराष्ट्रिय सेवकको रूपमा सेवा गर्दै, १९८७