आधुनिक चिकित्सा—यसले कुन हदसम्म सफलता हासिल गर्न सक्ला?
आधुनिक चिकित्सा—यसले कुन हदसम्म सफलता हासिल गर्न सक्ला?
थुप्रै केटाहरूले कलिलै उमेरमा यसो गर्न सिक्छन्: रूखको स्याउ टिप्न सकिएन भने साथीको कुममा चढेर टिप्नुपर्छ। चिकित्साजगत्मा पनि यस्तै भएको छ। चिकित्सा अनुसन्धानकर्ताहरूले विगतका जान्नेसुन्ने चिकित्सकहरूले पत्ता लगाइसकेका कुराहरूलाई आधार बनाएर नयाँ उपलब्धि हासिल गरेका छन्।
चिकित्साजगत्को ख्यातिप्राप्त व्यक्तिहरूमा हिपोक्रेट्स अनि पाश्चरका अतिरिक्त थुप्रै मानिसहरूले नामै नसुनेका भेसेलियस र विलियम मोर्टन पनि पर्छन्। आधुनिक चिकित्साजगत्मा तिनीहरूले कस्ता योगदान पुऱ्याएका छन्?
प्राचीन समयमा औषधोपचारहरू वैज्ञानिक ढंगमा नभई अन्धविश्वास अनि धार्मिक रीतिथितिहरूमा आधारित हुन्थे। डा. फेलिक्स मार्टी-इबानेजद्वारा सम्पादित पुस्तक दी एपिक अफ मेडिसिन यसो भन्छ: “रोगबिमार भनेको देवीदेउताले दिएको सजाय हो भन्ने विश्वासले गर्दा मेसोपोटामियालीहरू रोगसित लड्न . . . , धार्मिक चिकित्सा औषधोपचारको सहारा लिन्थे।” त्यसको केही समयपछि थालिएका मिश्री औषधीहरू पनि धर्ममै आधारित थिए। तसर्थ, पहिलादेखि नै रोग निको पार्ने व्यक्तिलाई देउता सरह मान गरिन्थ्यो।
डा. थोमस ए. प्रेस्टनले द क्ले पेडेस्टल नामक आफ्नो पुस्तकमा यस्तो लेखे: “चिकित्सासम्बन्धी पुरातन समयका थुप्रै विश्वासले आज हाम्रो समयसम्म पनि अमेट छाप पारेको छ। ती विश्वासहरूमध्ये एउटा, बिरामी आफैले रोगबिमार निको
पार्नसक्दैन तर चिकित्सकको असाधारण शक्तिद्वारा मात्र त्यसो गर्नु सम्भव छ भन्ने विश्वास थियो।”आधारशिला तयार गर्ने
तथापि, समयको दौडान एकदमै वैज्ञानिक ढंगमा चिकित्सा उपचार गर्न थालियो। वैज्ञानिक ढंगमा उपचार गर्ने सबैभन्दा पहिलो चिकित्सक हिपोक्रेट्स हुन्। तिनी कास नामक ग्रीक टापुमा लगभग ४६० सा.यु.पू.-तिर जन्मेका थिए र सबैले तिनलाई पश्चिमी औषधोपचारका संस्थापक मान्छन्। तिनले चिकित्सासम्बन्धी बताएका कुराहरू व्यावहारिक थिए। तिनले रोग भनेको देवीदेउताले दिएको सजाय होइन तर यो प्राकृतिक कारणले हुन्छ भनी प्रमाणित गर्न खोजे। उदाहरणका लागि, छारेरोगलाई धेरै समयदेखि धर्मसित सम्बन्धित रोग भनिन्थ्यो र यसलाई देउताले मात्र निको पार्नसक्छ भन्ने विश्वास गरिन्थ्यो। तर हिपोक्रेट्सले यस्तो लेखे: “धर्मसित सम्बन्धित भनिने रोगहरू मलाई कुनै पनि हालतमा परमेश्वरले दिनुभएका सजाय हुन् जस्तो लाग्दैन न त अरू रोगहरूभन्दा यी रोगहरू ठूलो नै लाग्छ। बरु, यी रोगहरू प्राकृतिक कारणले गर्दा लाग्ने रोग हुन्।” हिपोक्रेट्स, विभिन्न रोगका लक्षणहरू चिनेर त्यसलाई पछिको लागि लेखेर राख्ने पहिलो चिकित्सकका रूपमा पनि चिनिन्छन्।
शताब्दीयौंपछि, सा.यु. १२९ मा जन्मेका युनानी चिकित्सक ग्यालेनले पनि त्यस्तै नयाँ प्रकारको वैज्ञानिक अनुसन्धान गरे। मानिस तथा जनावरहरूको चिरफारलाई आधार बनाएर तिनले शारीरिक संरचनाबारे एउटा पुस्तक तयार पारे। यसलाई डाक्टरहरूले शताब्दीयौंसम्म प्रयोग गरे! सन् १५१४ मा ब्रसेल्समा जन्मेका आन्ड्रियास भेसालीयसले अन द स्ट्रक्चर अफ द ह्युमन बडी नामक पुस्तक लेखे। ग्यालेनका थुप्रै निष्कर्षसित बाझिने कुराहरू भएका कारण थुप्रै विरोध खप्नुपरे तापनि यसले शारीरिक संरचना विज्ञानसम्बन्धी आधुनिक सिद्धान्तको आधारशिला तयार गऱ्यो। यसले गर्दा डी ग्रोसन (महान्
व्यक्तिहरू) पुस्तकअनुसार भेसालीयस “अहिलेसम्मका चिकित्सा अनुसन्धानकर्ताहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण व्यक्ति भए।”अन्ततः मुटु अनि रक्तसञ्चारसम्बन्धी ग्यालेनको सिद्धान्त रद्द भयो। a अंग्रेज चिकित्सक विलियम हार्भेले जनावर र चराचुरुंगीहरूको चिरफार गर्ने कार्यमा वर्षौं बिताए। तिनले, मुटुका भल्भहरूले कसरी काम गर्छ भनेर जाँच्नुका साथै मुटुको हरेक कोठामा कति रगत हुन्छ भनेर नापे र पूरै शरीरमा कति रगत हुन्छ भन्ने अनुमान लगाए। आफूले पत्ता लगाएका कुरा हार्वेले १६२८ मा अन द मोशन अफ द हार्ट एण्ड ब्लड इन एनिमल्स नामक पुस्तकमा प्रकाशित गरे। तिनको आलोचना गरियो, तिनी विरोध र आक्रमणको सिकार बने अनि अपमानित भए। तर तिनको कार्यले चिकित्सा क्षेत्रमा एउटा नयाँ मोड ल्यायो। त्यो थियो, शरीरको रक्तसञ्चार प्रणाली पत्ता लाग्नु!
हजामतदेखि शल्यक्रियासम्म
शल्यक्रिया गर्ने तरिकामा पनि ठूलठूला उन्नतिहरू भए। मध्ययुगको दौडान शल्यक्रिया प्रायजसो हजामहरूले गर्ने गर्थे। अतः कसैकसैको भनाइअनुसार आधुनिक शल्यक्रियाका संस्थापक १६ औं शताब्दीका फ्रान्सेली आम्ब्रोइस पेरे थिए, जसले फ्रान्सका चार जना राजाहरूका सेवा गरे र शल्यचिकित्सकहरूका अग्रणी पनि थिए। पेरेले शल्यक्रियाका लागि थुप्रै औजार पनि आविष्कार गरे।
उन्नाइसौं शताब्दीका शल्यचिकित्सकहरूले अझै पनि शल्यक्रियाको पीडा कम गर्न सकिरहेका थिएनन्। तर १८४६ मा दन्त शल्यचिकित्सक विलियम मोर्टनले शल्यक्रिया गर्दा विस्तृत रूपमा एनेस्थेटिक्स प्रयोग गर्न बाटो तयार पारे। b
सन् १८९५ मा विद्युतीय परीक्षण गरिरहेको बेला जर्मन चिकित्सक विल्हेल्म रोन्टजेनले शरीरका हड्डीबाहेक अरू सम्पूर्ण भागबाट छिरिरहेका किरणहरू देखे। तिनलाई ती किरणहरू कसरी उत्पत्ति भए, थाह नभएको कारण तिनले त्यसलाई एक्स-रे नाउँ दिए र आजसम्म पनि अंग्रेजीमा त्यही नाउँले चिनिन्छ। (जर्मनहरू त्यसलाई रोन्टजेन्सट्राहलेन भन्छन्।) डाइ ग्रोशेन डोइचेन (महान जर्मनहरू) पुस्तकअनुसार रोन्टजेनले आफ्नी श्रीमतीलाई यसो भने: “अब मानिसहरूले ‘रोन्टजेन पागल भयो’ भन्नेछन्।” कसैकसैले त त्यसै भने पनि। तर तिनको आविष्कारले शल्यक्रियामा आमूल परिवर्तनै ल्यायो। अब शल्यचिकित्सकहरूले चिरफार नगरीकनै शरीरभित्र हेर्न सक्ने भए।
रोगमाथि विजयी
युगौंदेखि बिफरजस्ता सरुवा रोगहरू फेरिफेरि देखा परेर त्यसले महामारी, त्रास अनि मृत्यु फैलाइरहेको छ। त्यसबेलाका इस्लामीजगत्कै सबैभन्दा महान् चिकित्सकको संज्ञासमेत दिइएको नवौं शताब्दीका फारसी आर राजीले बिफरबारे एकदमै सही विवरण लिपिबद्ध गरे। तर शताब्दीयौंपछि एडवार्ड जेनर भनिने बेलाइती चिकित्सकले यसको निवारण विधि पत्ता लगाए। गाईलाई लाग्ने कम हानिकारक बिफर अर्थात् काउपक्स रोग लागेको मानिसलाई बिफरले संक्रमण गर्दैन भन्ने कुरा जेनरले बुझे। यसै खोजअनुसार जेनरले काउपक्स भएको छालाका पत्रहरू प्रयोग गरेर बिफर विरुद्ध खोप तयार पारे। यो सन् १७९६ को कुरा थियो। तिनीभन्दा अघिका अरू आविष्कारकहरूको जस्तै तिनको पनि आलोचना अनि विरोध गरियो। तर खोप तयार पार्ने हेतुले गरिएको तिनको खोजले अन्ततः यस रोगलाई निर्मूल पारिछाड्यो र चिकित्सा क्षेत्रमा नयाँ शक्तिशाली माध्यम उपलब्ध भयो।
फ्रान्सेली लुई पाश्चरले रेबिज अनि एन्थ्रेक्स विरुद्ध खोप प्रयोग गरे। रोगबिमार हुनुमा जीवाणुको ठूलो हात हुन्छ भनेर पनि तिनले प्रमाणित गरे। एक जना इतिहासकारले “उन्नाइसौं शताब्दीको सबैभन्दा ठूलो हत्यारा” भनेर वर्णन गरेको क्षयरोगको जीवाणु १८८२ मा रोबर्ट कोचले पत्ता लगाए। त्यसको एक वर्षपछि, कोचले हैजाका जीवाणुहरू पत्ता लगाए। लाइफ पत्रिका यसो भन्छ: “पाश्चर तथा कोचले सूक्ष्म जीव विज्ञानबारे अनुसन्धान सुरु गरेपछि रोग प्रतिरोध क्षमता, सरसफाइ अनि सुस्वास्थ्यको क्षेत्रमा प्रगति भयो। यी क्षेत्रहरूमा भएको प्रगतिले मानिसको आयु लम्ब्याउन जे जति गर्न सक्यो, विगत १,००० वर्षभित्र भएका कुनै पनि वैज्ञानिक उपलब्धिले गर्न सकेन।”
बीसौं शताब्दीको चिकित्साजगत्
बीसौं शताब्दीको सुरुसम्ममा चिकित्साजगत् यी अनि अन्य उत्कृष्ट पेसेवर चिकित्सकहरूको कुममा चढिरहेको जस्तो थियो। त्यसबेलादेखि चिकित्सा क्षेत्रमा तीव्र प्रगति भइरहेको छ। जस्तै, मधुमेहको लागि इन्सुलिन, क्यान्सर निवारण गर्नको लागि केमोथेरापी, ग्रन्थि असन्तुलनको लागि हर्मोन उपचार, क्षयरोगका लागि एन्टिबायोटिक, कुनैकुनै मलेरियाको लागि क्लोरोक्वाइन, मृगौलासम्बन्धी समस्याहरूका लागि डायलाइसिस, साथसाथै मुटुको शल्यक्रिया अनि अंग प्रत्यारोपण। यी त केही उदाहरण मात्र हुन्।
तर अहिले २१ औं शताब्दीको सुरुमा “संसारका सबै मानिसहरूका लागि संतोषजनक स्वास्थ्य” हासिल गर्ने लक्ष्य प्राप्त गर्न कति समय पर्खनु पर्ला?
पाप्त गर्नै नसकिने लक्ष्य?
आफ्नो साथीको कुममा चढ्दैमा सबै स्याउ टिप्न सकिंदैन भनेर केटाहरूले बुझिहाल्छन्। रूखको टुप्पामा भएका कुनैकुनै रसिला स्याउहरू अझै टिप्न नसकिरहेको हुनसक्छ। त्यसै गरी, चिकित्साजगत् पनि एकपछि अर्को उपलब्धि हासिल गर्दै नयाँ उचाइसम्म पुगेको छ। तर सबैको लागि सुस्वास्थ्य अर्थात् सबैभन्दा बहुमूल्य लक्ष्य भने रूखको टुप्पामै छ।
तसर्थ, १९९८ मा युरोपेली आयोगको रिपोर्टअनुसार “युरोपेलीहरूले त्यस्तो दीर्घायु अनि स्वस्थ जीवनको आनन्द कहिल्यै पनि उठाएका थिएनन्।” तर त्यही रिपोर्टले अझ बताएअनुसार, “पाँच जनामध्ये एक जना ६५ वर्ष नपुग्दै अकालमा मर्छन्। तिनीहरूमध्ये ४०% क्यान्सरबाट, अरू ३०% चाहिं मुटु अनि नसासम्बन्धी रोगबाट . . . मृत्यु हुन्छ। नयाँ स्वास्थ्य समस्याहरू विरुद्ध उत्तम सुरक्षा दिनैपर्छ।”
नोभेम्बर १९९८ मा प्रकाशित जर्मनको गेसुनडाइट स्वास्थ्य पत्रिकाको एउटा रिपोर्टअनुसार हैजा तथा क्षयरोगजस्ता संक्रामक रोगहरूले त्रास बढाइरहेका छन्। किन? “किनभने एन्टिबायोटिक पहिले जति प्रभावकारी छैनन्। कुनैकुनै औषधीले त ब्याक्टेरियाहरूलाई पटक्कै असर नगर्ने भइसक्यो भने कतिपयलाई चाहिं थुप्रै औषधीले समेत कुनै
फरकै पार्दैन।” पुराना रोगहरू मात्र होइनन् एड्सजस्ता नयाँ रोगहरू पनि देखा परिरहेका छन्। स्टाटिक्सटिकस ‘९७ नामक जर्मनीको औषधी उत्पादनसम्बन्धी प्रकाशन यसो भन्छ: “मानिसहरूले थाह पाएका दुई तिहाइ रोग अर्थात् लगभग २०,००० थरीका रोग लाग्नुको कारणै पत्ता लगाउन सकिएको छैन।”के जीन थेरापी यसको समाधान हो?
हो, नयाँ उपचार विकास हुने क्रम जारी छ। उदाहरणका लागि, थुप्रैको विचारमा आनुवंशिक इन्जिनियरिङद्वारा उत्तम जीवन भेट्टाउन सकिन्छ। सन् १९९० को दशकमा संयुक्त राज्यका डा. डब्लु. फ्रेन्च एन्डरसनले अनुसन्धान गरेपछि जीन थेरापीलाई “चिकित्सा अनुसन्धानको सबैभन्दा जल्दोबल्दो विषय” भनी वर्णन गरे। हेलेन मिट गेनेन (जीनद्वारा निवारण) पुस्तकको भनाइअनुसार जीन थेरापीद्वारा “चिकित्सा विज्ञान उन्नतिको संघारमै पुग्नसक्छ। विशेष गरी, हाल उपचार पत्ता नलागेका रोगबिमारको उपचारमा यसले धेरै नै फरक पार्ने छ।”
वैज्ञानिकहरू जन्मजात आनुवंशिक रोगलाई प्रशोधित जीनको इन्जेक्सन दिएर निको पार्न सकिने समय आउनेछ भन्ने आशा गर्छन्। अझ क्यान्सरजस्तो हानिकारक कोषलाई पनि आफै नाश हुने तुल्याइनेछ। कुनै व्यक्तिको रोग प्रतिरोधात्मक क्षमताबारे पनि अग्रिम जानकारी पाउन जीनमा हेर्न सकिनेछ। त्यसपछि, कसैकसैको भनाइअनुसार फार्माकोजेनोमिक्स अर्थात् रोगीको जीनको बनावटसित मिल्ने तत्त्वहरू तयार पार्ने काम गरिनेछ। एक जना प्रमुख अनुसन्धानकर्ताले भनेअनुसार एक दिन डाक्टरहरूले “आफ्ना रोगीहरूको रोग खुट्याउनेछन् र तिनीहरूको रोग निको पार्न उपयुक्त आनुवंशिक रेसा एक टुक्रा दिनेछन्।”
तथापि, जीन थेरापिले भविष्यमा “अचूक निवारण” गर्नेछ भन्ने कुरा सबैले पत्याएका छैनन्। वास्तवमा, सर्वेक्षणले देखाएअनुसार मानिसहरू आफ्नो जीनको बनौटबारे परीक्षण गराउनसमेत हिचकिचाउँछन्। जीन थेरापी गर्नु भनेको प्रकृतिसित अनावश्यक खतरा मोल्नु बराबर होला कि भनेर डराउँछन्।
आनुवंशिक इन्जिनियरिङ वा अन्य उच्च प्रविधिले तिनीहरूको ठूलठूला प्रतिज्ञा पूरा गर्नेछन् वा छैनन्, त्यो त समयले नै बताउनेछ। तथापि, त्यस्तो निराधार कुराको आशा गर्नु पनि ठीक होइन। द क्ले पेडेस्टल पुस्तकले सबैलाई थाह भएको एउटा चक्रबारे यसरी वर्णन गर्छ: “चिकित्सकहरूको बैठक अनि पेसेवर अखबारहरूमा घोषणा गरेपछि नयाँ उपचार विधिहरू सार्वजनिक हुन्छन्। यसको आविष्कार गर्ने व्यक्तिहरू यसै पेसाका मानिसहरूबीच प्रख्यात हुन्छन् र सञ्चार माध्यमहरूले त्यस उपलब्धिको स्वागत गर्छन्। यस्तो अद्भुत उपचारको प्रशंसा गर्दै हर्षोल्लास मनाइन्छ अनि कागजातहरू तयार पारिन्छन् तर केही समयपछि नै निराशा छाउन थाल्छ र त्यो निराशा केही महिनादेखि दशकौंसम्म पनि रहिरहनसक्छ। त्यसपछि नयाँ उपचारको आविष्कार हुन्छ र त्यसले राता रात पुरानो उपचारको ठाउँ लिन्छ अनि पुरानो उपचारलाई बेकम्मा ठानेर त्यागिन्छ।” हो, डाक्टरहरूले अहिले प्रभावहीन भनेर त्यागेका उपचारहरू केही समयअगाडिसम्म राम्रो अनि प्रचलित उपचार थियो।
डाक्टरहरूलाई आज प्राचीन समयमा जस्तो धार्मिक प्रतिष्ठा दिइँदैन। तैपनि, केही मानिसहरूमा चिकित्सकहरूसित
दैवी शक्ति हुनुपर्छ भन्ने झुकाउ भएको पाइन्छ र मानिसजातिको सबै रोगबिमारको उपचार विज्ञानले नै भेट्टाउनेछ भन्ने धारणा राख्छन्। तथापि, वास्तविकता यो आदर्श सोचाइभन्दा कता हो कता फरक छ। हाउ एण्ड ह्वाइ वी एज नामक आफ्नो पुस्तकमा डा. लियोनार्ड हेफ्लीक यसो भन्छन्: “सन् १९०० मा संयुक्त राज्यका ७५ प्रतिशत मानिसहरू पैंसट्ठी वर्ष पुग्नु-अगावै मर्थे। तर आजको तथ्यांक भने त्यसको ठीक विपरीत भएको छ: झन्डै ७० प्रतिशत मानिसहरू पैंसट्ठी वर्ष नाघेपछि मर्छन्।” मानिसको आयुमा यस्तो उल्लेखनीय वृद्धि कसरी हुनपुग्यो? “जन्मने बित्तिकै मर्नेहरूको संख्यामा कमी आएकोले हो” भनी हेफ्लीक बताउँछन्। मानिलिनुहोस्, चिकित्सा विज्ञानले वृद्धहरूको मृत्युको कारक मुटु रोग, क्यान्सर र हृदयघातजस्ता रोगहरूलाई नामेट पाऱ्यो। तर के त्यसले मानिसलाई अजम्मरी जीवन दिनसक्छ? सक्दैन। त्यसपछि पनि “प्रायजसो मानिसहरू लगभग सय वर्षसम्म बाँच्न सक्नेछन्” भनी डा. हेफ्लीक टिप्पणी गर्छन्। तिनी अझ यसो भन्छन्: “यी सय वर्षसम्म बाँच्ने मानिसहरूले अझै पनि अजम्मरी जीवन पाउन सक्नेछैनन्। तर तिनीहरू के कारणले मर्नेछन्? दिनप्रतिदिन कमजोर हुँदै जाने भएकोले।”चिकित्सा विज्ञानको अथक प्रयासका बावजूद मृत्यु नामेट पार्नु चिकित्साजगत्ले गर्न नसक्ने कुरो हो। यसो किन भएको? उसोभए, सबैका लागि सुस्वास्थ्य असम्भव सपना मात्रै हो त? (g01 6/8)
[फुटनोटहरु]
a द वर्ल्ड बूक इन्साइक्लोपीडिया-अनुसार ग्यालेनले पचिसकेको खानालाई कलेजोले रगतमा परिणत गर्छ र त्यो रगत विभिन्न भागमा पुगेपछि शरीरले सोस्छ भन्ठानेका थिए।
b ब्यूँझनुहोस्! डिसेम्बर ८, २००० को “पीडादेखि एनेस्थेसियासम्म” विषयक लेख हेर्नुहोस्।
[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]
“चिकित्सासम्बन्धी पुरातन समयका थुप्रै विश्वासले आज हाम्रो समयसम्म पनि अमेट छाप पारेको छ।”– द क्ले पेडेस्टल
[पृष्ठ ५-मा भएको चित्र]
हिपोक्रेट्स, ग्यालेन र भेसालीयसले आधुनिक चिकित्साजगत्को जग बसाले
[स्रोत]
Kos Island, Greece
Courtesy National Library of Medicine
Woodcut by Jan Steven von Kalkar of A. Vesalius, taken from Meyer’s Encyclopedic Lexicon
[पृष्ठ ६-मा भएको चित्र]
फ्रान्सका चार जना राजाहरूका सेवा गर्ने आम्ब्रोइस पेरे शल्यचिकित्सकहरूका अग्रणी थिए
फारसी चिकित्सक आर राजी (बायाँ) र बेलाइती चिकित्सक एडवार्ड जेनर (दायाँ)
[स्रोत]
Paré and Ar-Rāzī: Courtesy National Library of Medicine
From the book Great Men and Famous Women
[पृष्ठ ७-मा भएको चित्र]
फ्रान्सेली लुई पाश्चरले जीवाणुको कारण रोग लाग्छ भनेर प्रमाणित गरे
[स्रोत]
© Institut Pasteur
[पृष्ठ ८-मा भएको चित्र]
मृत्युका प्रमुख कारणहरू नामेट पार्नसके तापनि वृद्धावस्थापछि मृत्यु निश्चित छ