भाषा—सञ्चारको लागि पुल र पर्खाल
भाषा—सञ्चारको लागि पुल र पर्खाल
मेक्सिकोका ब्यूँझनुहोस्! संवाददाताद्वारा
“मानिसहरूको परिवर्तनशील अवस्था, सामाजिक संगठन, विश्वास र भावनाहरूबारे तिनीहरूको भाषा विश्लेषणले जति अरू कुनै पनि पक्षले बताउन सक्दैन।”—मार्टिन अलोन्सो।
इतिहासभरि बुद्धिजीवीहरू भाषाको सुरुआत, त्यसको विविधता र परिवर्तनशीलता देखेर दंग परेका छन्। भाषाले गर्दा नै तिनीहरूको यो उत्साह, ऐतिहासिक विवरणहरू जस्तै संरक्षण गर्न सम्भव भएको छ। निस्सन्देह, मानिसहरूको लागि सञ्चारको एक मात्र माध्यम भाषा नै हो।
वर्तमान समयमा कोही कोही भाषाविद्हरूको अनुमानअनुसार संसारमा ६,००० वा त्योभन्दा बढी भाषाहरू बोलिन्छन् र यसमा स्थानीय उपभाषाहरू समावेश गरिएका छैनन्। सबैभन्दा बढी बोलिने भाषा मन्डारिन चाइनिज हो र यो ८० करोडभन्दा बढी मानिसहरूले बोल्छन्। त्यसपछि, सबैभन्दा बढी बोलिने भाषाहरूमा अंग्रेजी, स्पेनी, हिन्दी र बंगाली पर्छन्।
विभिन्न संस्कृति र विभिन्न भाषा बोल्ने मानिसहरूको एकआपससित अकस्मात् भेटघाट हुँदा के हुन्छ? अर्कोतिर, समूहहरू अलग्गै छुट्टिंदा भाषामा कस्तो असर पर्छ? आउनुहोस्, सञ्चारले पुल मात्र होइन तर पर्खाल पनि कसरी खडा गर्छ, हामी हेरौं।
पिजिन, क्रिओल र लिंग्वा फ्रांका
उपनिवेश, अन्तरदेशीय व्यापार अनि यातना शिविरहरूमा बन्दी बनाइएको अवस्थामा समेत मानिसहरूले कुनै साझा भाषा नभएको हुँदा सञ्चारको लागि पुलको आवश्यकता महसुस गरेका छन्। अतः तिनीहरूले कम शब्दावली भएको वा सरलीकृत भाषा प्रयोग गर्न थाले। तिनीहरूले अप्ठ्यारा व्याकरणहरू हटाए, कम शब्दहरू मात्र प्रयोग गरे अनि साझा चासोको विषयका शब्दहरू
मात्र बोले। यसरी पिजिन भाषा सुरु भयो। पिजिन, एकदमै कम शब्दावलीको भाषा भए तापनि यसको छुट्टै भाषिक प्रणाली छ। तर, आवश्यकताले जन्माएको यो भाषाको आवश्यकता रहेन भने नामेट पनि हुनसक्छ।कुल जनसंख्याको मुख्य भाषा नै पिजिन हुन गयो भने नयाँ शब्दहरू थपिन्छन् र व्याकरणमा छाँटकाँट गरिन्छ। त्यसरी परिवर्तन भएको भाषालाई क्रिओल भनिन्छ। क्रिओलले मानिसहरूको संस्कृति झल्काउँछ भने पिजिनले झल्काउँदैन। अहिले संसारमा अंग्रेजी, फ्रान्सिसी, पुर्तगाली, स्वाहिली र अरू थुप्रै भाषामा आधारित दर्जनौं पिजिन तथा क्रिओल बोलिन्छ। ती कुनै कुनै देशको मुख्य भाषासमेत भएका छन्, जस्तै: पापुआ न्यु गिनीको टोक पिसिन र भानुआटुको बिस्लामा।
सञ्चारलाई सुगम बनाउने अरू पुलहरू लिंग्वा फ्रांका हुन्। लिंग्वा फ्रांका भनेको बेग्लाबेग्लै मातृभाषा हुने मानिसहरूले बोल्ने साझा भाषा हो। उदाहरणका लागि, मध्य अफ्रिकी गणतन्त्रमा विभिन्न स्थानीय भाषा बोल्ने मानिसहरू एकअर्कासित साङ्गो भाषामा कुराकानी गर्न सक्छन्। कुटनीतिज्ञहरू भने लिंग्वा फ्रांकाको रूपमा अंग्रेजी र फ्रान्सिसी बोल्छन्। पिजिन र क्रिओल पनि एक प्रकारका लिंग्वा फ्रांका हुन्।
एउटै देशभित्र पनि इलाकाअनुसार मानिसहरूले बेग्लाबेग्लै किसिमले राष्ट्रिय भाषा बोल्छन् अनि यसलाई उपभाषा भनिन्छ। यस्ता इलाकाहरू अरूबाट जति धेरै पृथक हुन्छन्, भिन्नता पनि त्यतिकै प्रत्यक्ष हुन्छ। समय बित्दै जाँदा यी उपभाषाहरू मूल भाषाभन्दा एकदमै फरक भएर अर्कै भाषा बन्न पुग्छन्। कहिलेकाहीं
भाषाविद्हरूलाई भाषा हो कि उपभाषा, छुट्याउनै गाह्रो पर्छ। साथै, भाषा भनेको सधैं परिवर्तन भइरहने हुँदा, उपभाषाहरू प्रयोग भएनन् भने अस्तित्वबाट हराउनसक्छ।भाषा भनेको ईश्वरीय वरदान हो। (प्रस्थान ४:११) भाषामा हुने परिवर्तनले यो वरदान कति लचकदार छ भनेर प्रस्ट हुन्छ। भाषाबाट हामीले थाह पाउने अर्को कुरा हो, कुनै पनि भाषालाई निम्न कोटीको भाषा भन्न नमिल्ने हुँदा कुनै पनि समूह अर्कोभन्दा श्रेष्ठ हुँदैन। अरू ईश्वरीय वरदानहरू जस्तै जुनसुकै ठाउँका मानिसहरू हुन्, तिनीहरूको संस्कृति जेसुकै होस्, सबैको आ-आफ्नो भाषा छ। भाषाको उत्पत्तिदेखि नै सबै जातिका मानिसहरूको भाषाले आफ्नो उद्देश्य पूरा गरेको छ। कुनै पनि भाषा प्रयोग गर्ने मानिसहरूको संख्या कम होस् या बढी, सबै समान आदरको योग्य छन्।
ऐतिहासिक तथा सामाजिक पक्ष
मानिस सामाजिक प्राणी हो भन्ने कुरा भाषाबाट प्रस्ट हुन्छ। त्यसैकारण, विभिन्न संस्कृतिहरूको एकअर्कासित सम्पर्क हुँदा पुस्तौंसम्म पनि त्यसको असर भाषाले झल्काउँछ।
उदाहरणका लागि, स्पेनी भाषा, ल्याटिन भाषाको संशोधित रूप मानिन्छ तर थुप्रै शब्द अरबी मूलको भएको हुँदा आठौं शताब्दीमा मुस्लिमहरूले स्पेनी इलाकामाथि हासिल गरेको विजयको छनक पाइन्छ। स्पेनी भाषामा ग्रीक, फ्रान्सिसी, अंग्रेजी र अरू भाषाहरूको प्रभाव पनि महसुस गर्न सकिन्छ। यसबाहेक, अमेरिकामा बोलिने स्पेनी भाषामा त्यो महादेशका पुरातन निवासीहरूको प्रभाव अझै पाइन्छ। उदाहरणका लागि, त्यहाँ बोलिने स्पेनी भाषामा एज्टेक मध्यअमेरिकाको नाह्वाटल भाषाका थुप्रै शब्द प्रयोग गरिन्छन्।
मातृ भाषाले कुन राष्ट्र वा इलाकाका मानिसहरू भनेर चिनाएझैं भाषाले कुन समूह, पेसा, व्यवसाय, संस्कृति र खेल समूह वा अपराधिक संगठनका मानिसहरू हुन् भनेर चिनाउँछ। यस्तो सूची तयार पार्न खोज्यौं भने कहिल्यै टुंगो लाग्नेछैन। भाषाविद्हरू यस्तो विविधतालाई अस्पष्ट भाषा वा उपभाषा भन्ने गर्छन्।
तथापि, राष्ट्रिय, जनजातीय वा सांस्कृतिक समूहहरूबीच दुस्मनी छ भने भाषाले पुलको काम गर्दैन। यो पर्खाल बन्छ र मानिसहरूबीचको फाटोलाई झनै चर्काउँछ।
भाषाको भविष्य
सञ्चार भनेको जटिल विषय हो। एकातिर, आमसञ्चार माध्यमले भाषिक पर्खाल भत्काउन खोज्छ। इनसाइक्लोपीडिया ब्रिटानिका-अनुसार हरेक ७ जना मध्ये १ जनाले प्रमुख वा उपभाषाको रूपमा अंग्रेजी बोल्ने गर्छन्। यसकारण, यो संसारमा सबैभन्दा प्रचलित लिंग्वा फ्रांका हो। अंग्रेजी भाषाको प्रयोगले गर्दा व्यापक सञ्चार कायम हुनुका साथै मदतकारी जानकारी आदानप्रदान गर्न सम्भव भएको छ।
अर्कोतिर, भाषिक पर्खालहरूले गर्दा विभाजन, घृणा र युद्ध भएको छ। द वर्ल्ड बूक इनसाइक्लोपीडिया यसो भन्छ: “सबै मानिसहरूको एउटै साझा भाषा हुँदो हो त . . . राष्ट्रहरूबीचको सम्बन्ध सौहार्दपूर्ण हुनेथियो।” निस्सन्देह, त्यस्तो परिवर्तनको लागि लिंग्वा फ्रांकाको प्रयोग भएर मात्र पुग्दैन, त्योभन्दा अझ गहन परिवर्तन हुनुपर्छ। भाषाहरूको सुरुआत गर्नुहुने सृष्टिकर्ताले मात्र सबै मानिसहरूलाई एउटै भाषा बोल्न लगाउन सक्नुहुन्छ।
मानिसहरूसित सञ्चार कायम गर्न परमेश्वरले चलाउनुहुने प्रमुख माध्यम, बाइबलले स्पष्टसित देखाएअनुसार परमेश्वरले वर्तमान दुष्ट रीतिरिवाजलाई चाँडै नामेट पार्नुहुनेछ र त्यसको बदलामा स्वर्गबाट शासन गर्ने शासन अर्थात् उहाँको राज्य खडा गर्नुहुनेछ। (दानियल २:४४) त्यो सरकारले सम्पूर्ण मानवजातिलाई यसै पृथ्वीमा शान्तिपूर्ण, धार्मिक नयाँ संसारमा एकताबद्ध पार्नेछ।—मत्ती ६:९, १०; २ पत्रुस ३:१०-१३.
अहिले पनि शुद्ध आध्यात्मिक भाषा अर्थात् यहोवा र उहाँका उद्देश्यहरूसम्बन्धी सत्यले विभिन्न भाषा, राष्ट्रियता र धर्मका लाखौं मानिसहरूलाई एकतामा बाँधिरहेको छ। (सपन्याह ३:९) तसर्थ, नयाँ संसारमा परमेश्वरले सबै मानिसहरूलाई एउटा साझा भाषाद्वारा एकतामा बाँध्नुहुनेछ र बाबेलमा जे गर्नुभयो, त्यसको ठीक विपरीत गर्नुहुनेछ।
[पृष्ठ १२-मा भएको पेटी]
भाषाको सुरुआत
सर्वज्ञानी सृष्टिकर्ता, यहोवा परमेश्वरले स्वर्गको आत्मिक जगत्मा पनि भाषाको प्रयोग गर्नुभएको छ। (अय्यूब १:६-१२; १ कोरिन्थी १३:१) उहाँले मानिस सृष्टि गर्नुहुँदा तिनीहरूलाई एउटा शब्द भण्डार र त्यसलाई विस्तार गर्ने क्षमता दिनुभयो। प्रारम्भिक मानवहरूले गुरगुर आवाज निकालेर बोल्ने गर्थे भन्ने कुनै प्रमाण पाइँदैन। त्यसको विपरीत, सबैभन्दा पुरानो लिखित भाषा, सुमेरुबारे इनसाइक्लोपीडिया ब्रिटानिका के भन्छ, त्यसलाई विचार गर्नुहोस्: “सुमेरु भाषामा प्रयोग हुने र यसका . . . अनेकन् उपसर्ग, प्रत्ययले एकदमै जटिल बनाउँछ।”
सा.यु.पू. २० औं शताब्दीतिर मेसोपोटामियाको शिनारमा सबै मानिसहरू भेला भएर सम्पूर्ण मानवजातिमाथि अधिकार जमाउने प्रयासमा बाबेलको धरहरा बनाउन थाले र यो परमेश्वरले “पृथ्वी भर्नु” भनी दिनुभएको उद्देश्य विपरीत थियो। परमेश्वरले तिनीहरूको खतरनाक तथा हानिकारक योजना विफल तुल्याउन साझा भाषालाई गोलमाल गर्नुहुँदा यति धेरै भाषाहरू उत्पन्न भए।—उत्पत्ति १:२८; ११:१-९.
बाइबलले सबै भाषा एउटै मूल भाषाबाट उत्पन्न भयो भनेर बताएको छैन। परमेश्वरले शिनारमा थुप्रै नयाँ शब्द तथा सोच्ने शैली दिनुभयो र यसले गर्दा थुप्रै भाषा भए। तसर्थ, कुन मूल भाषाबाट यति धेरै भाषा उत्पन्न भयो भनी पत्ता लगाउने प्रयास अहिलेसम्म सफल भएको छैन।
[पृष्ठ १२-मा भएको चित्र]
परमेश्वरले बाबेलमा विद्रोही मानिसहरूको भाषा गोलमाल गर्नुभयो