रक्तक्षेपण—विवादास्पद लामो इतिहास
रक्तक्षेपण—विवादास्पद लामो इतिहास
“आज रातो रक्तकणिका नयाँ औषधी हुँदो हो त यसलाई अनुमति पत्र प्राप्त गर्न निकै गाह्रो हुनेथियो।” –डा. जेफ्री मक्कलो।
सन् १६६७ को शरद ऋतुमा आङ्त्वाइन मर्वा नाउँ गरेका एक हिंस्रक बौलाहालाई फ्रान्सका राजा लुई चौधौंका नामुद वैद्य, झाङ-बातिस्त डनीकहाँ ल्याइयो। मर्वाको बौलाहापनका लागि डनीसित सर्वोत्तम “उपचार” थियो र त्यो थियो, मर्वालाई शान्त पार्न, बाछोको रक्तक्षेपण। तर, मर्वाको अवस्थामा भनेजस्तो सुधार भएन। हो, दोस्रो पटकको रक्तक्षेपणपछि तिनको स्थिति सुध्रन त सुध्रियो तर यस फ्रान्सेली पुरुषलाई फेरि बौलाहापनले समातिहाल्यो र केही दिनमै तिनको मृत्यु पनि भयो।
हुन त मर्वाको मृत्यु आर्सेनिक विषादीले गर्दा भएको थियो भनेर पछि पत्ता लाग्यो तर डनीले जनावरको रगतसँग गरेको यो अनुसन्धानले फ्रान्सभरि नै चर्को विवाद खडा गऱ्यो। अन्ततः, १६७० मा यो प्रक्रियामाथि प्रतिबन्ध लगाइयो। समय बित्दै जाँदा अंग्रेज संसद् र पोपले समेत यस प्रक्रियामाथि प्रतिबन्ध लगाए। त्यसपछिको १५० वर्षसम्म रक्तक्षेपणको नामोनिसान मेटियो।
प्रारम्भिक खतराहरू
उन्नाइसौं शताब्दीमा रक्तक्षेपण फेरि देखा पर्नथाल्यो। यसको पुनरुत्थान गराउनुमा अंग्रेज स्त्रीरोग विशेषज्ञ जेम्स ब्लन्डेलको हात थियो। सुधार गरिएको प्रविधि तथा आधुनिक उपकरणहरू र मानव रगतको मात्र प्रयोग हुनुपर्छ भन्ने सोचाइको आडमा ब्लन्डेल, रक्तक्षेपणतर्फ मानिसहरूको ध्यान फेरि खिच्न सफल भए।
तर १८७३ मा पोलिस डाक्टर एफ. गेजेल्यूसले पुनरुत्थान भएको रक्तक्षेपणलाई एउटा डरलाग्दो खोजद्वारा शिथिल बनाइदिए र त्यो थियो: रक्तक्षेपण गरिएका आधाभन्दा धेरै व्यक्तिहरूको मृत्यु। यो थाह पाउने बित्तिकै नामुद चिकित्सकहरू रक्तक्षेपणको भर्त्सना गर्न थाले। यसरी रक्तक्षेपणको ख्यातिमा फेरि एक पटक नराम्रो धब्बा लाग्यो।
त्यसपछि १८७८ मा फ्रान्सेली चिकित्सक झोर्झ आयेम्ले झोल सलाईनलाई सुधारे र यसलाई रगतको सट्टा प्रयोग गर्न सकिन्छ भन्ने दाबी गरे। रगतमा भएजस्तै यो झोल सलाईनका कुनै प्रतिकूल असरहरू थिएनन्। यो जम्दैनथ्यो र सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्थ्यो। अतः आयेम्को झोल सलाईन विस्तृत तवरमा यसरी प्रचलनमा आउनुको कारण बुझ्न सकिन्छ। तथापि, अचम्मको कुरा के छ भने, फेरि रगतले कृपादृष्टि पाउन थाल्यो। किन?
सन् १९०० तिर कार्ल ल्याण्डस्टेइनर नाउँ गरेका एक जना अस्ट्रियन प्याथलोजीस्टले रगतको भिन्नाभिन्नै समूह हुँदो रहेछ र एक समूहमा पर्ने रगत अर्को समूहमा पर्ने रगतसित सधैं मेल खाँदैन भन्ने कुरा पत्ता लगाए। त्यसैकारण पो विगतमा रक्तक्षेपणका कारण यत्तिका मानिसहरूले अकालमै ज्यान गुमाएका रहेछन्! अब उसो त्यसो हुने थिएन, किनकि रक्तदान गर्ने व्यक्ति र रगत लिने व्यक्तिको रक्त समूह पत्ता लगाए पुग्ने भो। यो ज्ञान पाएपछि चिकित्सकहरूले रक्तक्षेपणमाथि आफ्नो भरोसा फेरि बलियो बनाए र त्यो पनि प्रथम विश्वयुद्ध सुरु हुनै लाग्दा।
रक्तक्षेपण र युद्ध
प्रथम विश्वयुद्धतिर घाइते सिपाहीहरूमा अन्धाधुन्ध रक्तक्षेपण गरियो। पक्कै पनि रगत तुरुन्तै जम्थ्यो र युद्ध मैदानसम्म रगत पुऱ्याउनु त असम्भवै थियो। तर २० औं शताब्दीको सुरुतिर न्यु योर्कस्थित माउन्ट साइनाइ हस्पिटलका डा. रिचर्ड लुइसनले रगतलाई जम्न नदिन सोडियम साइट्रेड नामक तत्त्वको सफलतासाथ परीक्षण गरे। यो सनसनीपूर्ण समाधानलाई केही डाक्टरहरूले चमत्कारको रूपमा लिए। त्यतिखेरका सम्माननीय चिकित्सक डा. बर्ट्रम एम. बर्नहाइमले लेखे, “यो त मानौं सूर्यलाई त्यसको ठाउँमा अचल बनाएजत्तिकै थियो।”
दोस्रो विश्वयुद्धमा रगतको माग तीव्र गतिमा बढ्यो। “रगत दिनुहोस्,” “तपाईंको रगतले उसको ज्यान जोगिनसक्छ” र “उसले आफ्नो रगत दियो। के तपाईं पनि दिनुहुन्छ?” जस्ता नाराहरू लेखिएका पर्चाहरू जताततै टाँसिए। रगतको आवश्यकताले थुप्रै जिम्मेवारीहरू पनि थप्यो। दोस्रो विश्वयुद्धतिर संयुक्त राज्यमा मात्र झन्डै १,३०,००,००० युनिट रक्तदान गरिएको थियो। बेलाइतमा २,६०,००० लिटर रगत जम्मा गरेर वितरण गरिएको अनुमान छ। निस्सन्देह, रक्तक्षेपणले गर्दा थुप्रै
खतराहरू आइपरे, जुन केही समयभित्रै देखा पर्न थाले।रगतले गर्दा भएका रोगहरू
दोस्रो विश्वयुद्धपछि औषधोपचारमा भएको ठूलो प्रगतिले गर्दा पहिले कल्पनै गर्न नसकिने शल्यक्रियाहरू सम्भव भए। फलतः, वर्षेनी विश्वभरि अरबौं अमेरिकी डलर कमाउन सकिने उद्योग अर्थात् रक्त संकलन उद्योग च्याउ उम्रेझैं उम्रिए र चिकित्सकहरू रक्तक्षेपणलाई शल्यक्रियाको एक अभिन्न भाग ठान्न थाले।
तथापि, चाँडै, रक्तक्षेपणका कारण भएका रोगहरू देखा पर्न थाले। उदाहरणका लागि, कोरियाली युद्धमा प्लाज्मा क्षेपण गरिएका करिब २२ प्रतिशतलाई हेपाटाइटिस लागेको पाइयो जुन दोस्रो विश्वयुद्धको तुलनामा तीन गुणा बढी थियो। सन् १९७० सम्ममा यु.एस. सेन्टर्स फर डिजिज कन्ट्रोलको अनुमानअनुसार वर्षेनी रक्तक्षेपणका कारण हेपाटाइटिस लागेर मर्नेहरूको संख्या ३,५०० पुग्यो। अरूको अनुमान योभन्दा दस गुणा बढी छ।
तथापि, भरपर्दा स्क्रिनिङलगायत रक्तदाताहरूको होसियारीसाथ गरिने छनौटले गर्दा हेपाटाइटिस-बी संक्रमित रगतहरूमा कमी आउन थाल्यो। तर सुखको सास फेर्न नपाउँदै नयाँ अनि अझ घातक रोग अर्थात् हेपाटाइटिस सी-ले बित्यास पार्न थाल्यो। एउटा अनुमानअनुसार ४० लाख अमेरिकीहरू यो रोगले पीडित भए र तीमध्ये हजारौंलाई त रक्तक्षेपणकै कारण यो रोग सरेको थियो। हो, सूक्ष्म परीक्षणहरूद्वारा यो सर्वव्याप्त हेपाटाइटिस सी पनि समयको अन्तरालमा घट्न त घट्यो। तैपनि, फेरि नयाँ खालको रोग पो देखा पर्ने अनि त्यो निकै ढिलो भइसकेपछि मात्र पत्ता लाग्ने हो कि भन्ने डरले केही विशेषज्ञहरूलाई छोडेको छैन।
अर्को बदनामी: एच आई भी-संक्रमित रगत
सन् १९८० तिर रगत, एड्स रोगको जननी एच आइ भी-द्वारा संक्रमित हुनसक्छ भनेर पत्ता लाग्यो। सुरु सुरुमा त ब्लड बैंकहरूले आफूकहाँ जम्मा गरिएको रगत संक्रमित हुन्छ भनेर सोच्नसमेत चाहेनन्। तिनीहरूमध्ये थुप्रैले एच आइ भी खतरालाई शंकालु नजरले हेरे। डा. ब्रुस इभट्अनुसार “यो मरुभूमिमा भौंतारिएर आएको मानिसले ‘मैले मंगल ग्रहको जीव देखें’ भन्नुसरह थियो। त्यो कुरा सबैले सुन्न त सुन्छन् तर रत्तीभर पत्याउँदैनन्।”
तथापि, थुप्रै मुलुकहरूले एच आइ भी संक्रमित रगतले मच्चाइरहेको एकपछि अर्का काण्डहरू देखिरहेका छन्। फ्रान्समा मात्र १९८२ देखि १९८५ भित्र रक्तक्षेपणका कारण ६,००० देखि ८,००० मानिसहरू एच आइ भी-द्वारा संक्रमित भएका अनुमान गरिएको छ। अफ्रिकाभरि १० प्रतिशत मानिसहरू एच आइ भी-द्वारा संक्रमित हुनुको कारण र पाकिस्तानमा ४० प्रतिशत मानिसहरूलाई एड्स लाग्नुको मूल कारण रक्तक्षेपणै भएको ठहर गरिएको छ। तथापि, आज भरपर्दा स्क्रिनिङको कारण विकसित मुलुकहरूमा रक्तक्षेपणद्वारा एच आइ भी सर्ने घटनाहरू कम सुनिन थालेका छन्। तथापि, भरपर्दा स्क्रिनिङ प्रविधिहरू नभएका विकासोन्मुख राष्ट्रहरूमा रक्तक्षेपणद्वारा यसरी रोग सर्ने क्रम भने जारी नै छ।
तसर्थ, हालसालै रक्तविहीन औषधोपचार तथा शल्यक्रियाको माग बढिरहेको कारण बुझ्नसकिन्छ। तर के यो सुरक्षित विकल्प हो त?
[पृष्ठ ६-मा भएको पेटी]
रक्तक्षेपण–नीतिनियमरहित औषधोपचार
वर्षेनी संयुक्त राज्यमा मात्र १,१०,००,००० भन्दा धेरै युनिट रातो रक्तकणिका ३०,००,००० बिरामीहरूमा क्षेपण गरिन्छ। यो ठूलो परिमाणलाई विचार गर्दा रक्तक्षेपण गर्नुपरेमा चिकित्सकहरू कडिकडाइसाथ नीतिनियम पालन गर्दा हुन् भनेर सोच्नु स्वाभाविकै छ। तर, द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन-ले “रक्तक्षेपण गर्ने वा नगर्ने, त्यो निर्णयबारे” अत्यन्त थोरै जानकारी हुनु छक्कलाग्दो कुरा हो भनेर उल्लेख गरेको छ। वास्तवमा, कसरी क्षेपण गर्ने र कति क्षेपण गर्ने त्यो मात्र होइन कि साँच्चै क्षेपण गरियो वा गरिएन सो निर्धारण गरिने प्रक्रियाहरू एकअर्कामा निकै भिन्न छन्। “रक्तक्षेपण, डाक्टरमा भर पर्छ, बिरामीमा होइन,” भनेर आक्टा आनेस्टेजिओलोजिका बेल्जीका मेडिकल पत्रिका बताउँछ। उपरोक्त कुरालाई विचार गर्दा “झन्डै ६६ प्रतिशत रक्तक्षेपण अनुपयुक्त तरिकामा दिइएको छ” भन्ने द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन-मा प्रकाशित अध्ययन त्यति अचम्मलाग्दो छैन।
[पृष्ठ ५-मा भएको चित्र]
दोस्रो विश्वयुद्धमा रगतको माग एकदमै बढेको थियो
[स्रोत]
Imperial War Museum, London
U.S. National Archives photos