के कहिलेकाहीं झूट बोल्नु उचित हो?
बाइबलको दृष्टिकोण
के कहिलेकाहीं झूट बोल्नु उचित हो?
“सानो झूटले थुप्रै स्पष्टिकरणबाट जोगाउँछ।”
यस माथिको टिप्पणीबाट थुप्रै मानिसहरूले झूट बोल्नुप्रति राख्ने दृष्टिकोण स्पष्ट हुन्छ। झूट बोल्दा कसैको हानि हुँदैन भने ठीकै छ नि भनेर तिनीहरू तर्क गर्छन्। त्यस्तो तर्कको प्राज्ञिक नाउँ पनि छ। त्यो हो, अवस्था आचारसंहिता। यसअनुसार हामीले पछ्याउनुपर्ने एउटै मात्र नियम प्रेमको नियम हो। लेखिका डियान कम्पका अनुसार अर्को शब्दमा भन्ने हो भने, “तपाईंको उत्प्रेरणा सही छ र गलत मनसाय छैन भने ढाँट्नु भए तापनि . . . केही फरक पर्दैन।”
त्यस्तो विचारधारा आज संसारमा व्याप्त छ। नाउँ चलेका राजनीतिज्ञ तथा अन्य विश्व नेताहरूले झूट बोलेका कारण भएका काण्डहरूले समाजमा हलचल मच्चाएका छन्। यस्तो परिस्थितिबाट प्रभावित भएर कतिपय मानिसहरूले सत्य कुरा बोल्नुलाई कम महत्त्व दिन थालेका छन्। कुनै कुनै क्षेत्रमा त झूट बोल्नु आधिकारिक नीति नै भइसक्यो। “झूट बोलेरै म पैसा पाउँछु। झूट बोल्दा नै म चीजबीचहरू बेच्ने प्रतियोगिता जित्छु र प्रत्येक वर्ष प्रशंसायुक्त रिपोर्टहरू पाउँछु। . . . खुद्रा व्यापार प्रशिक्षण केन्द्रमा सिकाइने मुख्य कुरा आजकाल यही देखिन्छ” भनी एक सेल्सगर्ल गुनासो गर्छिन्। अहानिकारक झूट बोल्नुमा खास कुनै खराबी छैन भनी थुप्रैले विश्वास गर्छन्। के यो सही हो त? के मसीहीहरूले झूट बोल्न मिल्ने त्यस्ता कुनै अवसरहरू छन्?
बाइबलको उच्च स्तर
बाइबलले स्पष्टसित सबै प्रकारको झूटको निन्दा गर्छ। भजनरचयिता यस्तो घोषणा गर्छन्: “झूट बोल्नेहरूलाई [परमेश्वरले] नष्ट गर्नुहुन्छ।” (भजन ५:६; प्रकाश २२:१५ हेर्नुहोस्।) हितोपदेश ६:१६-१९ मा यहोवाले घृणा गर्नुहुने सात वटा कुराहरू लिपिबद्ध गरिएका छन्। त्यस सूचिमा मुख्यतः “झूट बोल्ने जिब्रो” र “धेरै असत्य बोल्ने झूटा गवाही[लाई]” समावेश गरिएको छ। किन? किनभने यहोवा झूटको कारण हुने हानि नोक्सानीहरू घृणा गर्नुहुन्छ। येशूले शैतानलाई झूटा र हत्यारा भन्नुको एउटा कारण पनि यही हो। त्यसको झूटले मानिसजातिलाई दुःख र मृत्युको भुमरीमा धकेल्यो।—उत्पत्ति ३:४, ५; यूहन्ना ८:४४; रोमी ५:१२.
यहोवा झूटो कुरालाई कत्तिको गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने कुरा हननिया र सफीराको घटनाबाट स्पष्ट हुन्छ। यी दुईले प्रेरितहरूसमक्ष वास्तविकताभन्दा बढी उदार देखिन जानाजानी झूट बोले। तिनीहरूले योजना बनाएर जानाजानी नै त्यस्तो कार्य गरेका थिए। अतः प्रेरित ५:१-१०.
प्रेरित पत्रुसले यस्तो घोषणा गरे: “तिमीले मानिसहरूलाई ता होइन, तर परमेश्वरलाईनै ढाँटेका हौ।” यसैकारण तिनीहरू दुवैले परमेश्वरबाट मृत्यु भोग्नुपऱ्यो।—वर्षौंपछि प्रेरित पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “एउटाले अर्कोलाई, नढाँट।” (कलस्सी ३:९) यो सल्लाह विशेष गरी मसीही मण्डलीमा अत्यावश्यक छ। येशूले सैद्धान्तिक प्रेम उहाँका साँचो अनुयायीहरूको चिनारी हुनेछ भन्नुभयो। (यूहन्ना १३:३४, ३५) त्यस्तो निस्वार्थ प्रेम पूर्णतया इमानदार र भरोसाको वातावरणमा मात्र बढ्न र फस्टाउनसक्छ। कोही व्यक्तिले सधैं सत्य कुरा बोल्छ भनेर विश्वस्त हुन सकिन्न भने त्यस्तो व्यक्तिलाई प्रेम गर्न गाह्रो हुन्छ।
सबै झूटहरू निन्दनीय भए तापनि कुनै कुनै झूट अरूभन्दा गम्भीर प्रकारको हुन्छ। उदाहरणका लागि, एक जना व्यक्तिले लाज वा डरको कारण झूट बोल्नसक्छ। अर्को व्यक्तिले अरूलाई हानि वा चोट पुऱ्याउने मनसायले नै दुष्ट्याइँ साथ झूट बोल्न सक्छ। दुष्ट मनसायले स्वेच्छापूर्वक झूट बोल्ने त्यस्ता फटाहाहरू अरूको निम्ति खतरा हुनसक्छन् र पश्चात्ताप नगरेको खण्डमा मण्डलीबाट बहिष्कृत गरिन्छ। सबै झूट दुष्ट अभिप्राय राखेर नबोलिने हुँदा अनावश्यक खोट नदेखाउन होसियार हुनुपर्छ र झूट बोल्नुका कारणहरू पत्ता लगाउनुपर्छ। मनसाय र परिस्थितिलाई विचार गर्नुपर्छ।—याकूब २:१३.
“सर्पझैं चनाखो”
निस्सन्देह, सत्य बोल्नुको अर्थ हामीलाई थाह भएको कुरा जसले सोधे पनि बेलीबिस्तार लगाउनु भनेको होइन। मत्ती ७:६ मा येशूले यस्तो चेताउनी दिनुभयो: “पवित्र चीज कुकुरहरूलाई नदेऊ, आफ्ना मोतीहरू सूँगुरका अगाड़ि नफाल, नत्रता तिनले आफ्ना खुट्टाले . . . कुल्चेर फर्की तिमीलाई हमला गर्लान्।” उदाहरणका लागि, दुष्ट मनसाय भएको मानिसले केही खास कुराहरू जान्ने कुनै अधिकार छैन। मसीहीहरूले आफू वैरी संसारमा बाँचिरहेका छन् भनेर बुझेका छन्। तसर्थ, येशूले आफ्ना चेलाहरूलाई “सर्पझैं चनाखो” र “ढुकुरझैं सोझो” हुने सल्लाह दिनुभयो। (मत्ती १०:१६; यूहन्ना १५:१९) विशेष गरी सबै तथ्य कुरा बताउँदा आफू वा आफ्ना अनुयायीहरूलाई नचाहिंदो खतरा हुनसक्ने अवस्थाहरू देख्नुहुँदा येशूले सबै कुरा प्रकाश पार्नुभएन। तर त्यस्तो समयमा पनि उहाँले झूटचाहिं बोल्नु भएन। त्यसको सट्टा उहाँले या त केही बोल्नु भएन या कुरालाई अर्कै दिशातिर मोड्नुभयो।—मत्ती १५:१-६; २१:२३-२७; यूहन्ना ७:३-१०.
अब्राहाम, इसहाक, राहाब र दाऊदजस्ता बाइबलमा उल्लिखित विश्वासी पुरुष तथा स्त्रीहरू आफ्ना सम्भावित शत्रुहरूसित व्यवहार गर्दा चतुर र होसियार थिए। (उत्पत्ति २०:११-१३; २६:९; यहोशू २:१-६; १ शमूएल २१:१०-१४) बाइबलले त्यस्ता पुरुष तथा स्त्रीहरूलाई विश्वासी उपासकहरू भनेको छ र तिनीहरूको जीवन आज्ञाकारिताले भरिएको थियो। त्यसैकारण तिनीहरू अनुकरण गर्न योग्यका छन्।—रोमी १५:४; हिब्रू ११:८-१०, २०, ३१, ३२-३९.
कुनै कुनै परिस्थितिमा झूट बोल्दा समस्याको समाधान सजिलै होलाजस्तो देखिनसक्छ। तर आज मसीहीहरूले कठिन परिस्थितिको सामना गर्नुपर्दा येशूको मार्ग अनुकरण गर्नुका साथै बाइबल प्रशिक्षित अन्तस्करण पछ्याउनु नै बेस हुनेछ।—हिब्रू ५:१४.
बाइबलले हामीलाई सत्यवादी अनि इमानदार हुन प्रोत्साहित गर्छ। झूट बोल्नु गलत हो र हामीले बाइबलको यो सल्लाह पालन गर्नुपर्छ: “हरेकले आफ्नो आफ्नो छिमेकीसित सत्य बोल।” (एफिसी ४:२५) यसो गर्दा हाम्रो अन्तस्करण सफा हुनेछ, अनि मण्डलीमा शान्ति र प्रेम बढाउनुका साथै “सत्य परमेश्वर[लाई]” आदर गरिरहेका हुनेछौं।—भजन ३१:५; हिब्रू १३:१८.
[पृष्ठ २०-मा भएको चित्र]
झूट बोलेको कारण हननिया र सफिराले आफ्नो ज्यान गुमाए