ब्राटिस्लाभा—पुरातन दोभानको बस्तीबाट आधुनिक राजधानी
ब्राटिस्लाभा—पुरातन दोभानको बस्तीबाट आधुनिक राजधानी
स्लोभाकियाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
मानि लिनुहोस्, तपाईं सन् १७४१ को अतीतमा फर्कन सक्नुहुन्छ। चारैतिर उत्सुकता छाएको छ। सडकमा निस्कनै लागेको लावालस्कर हेर्न घचेटाघचेट गरिरहेका मानिसहरूको रंगीचंगी जात्रा छ। किसानहरू आफ्नो सबैभन्दा राम्रो लुगामा सिंगारिएका छन् र मध्यम वर्गीय घमण्डी धनीमानीहरू अत्याधुनिक सजधजमा छन् भने उच्च घरानीयाकाहरू अरूलाई हेर्न र आफ्नै रवाफ देखाउन त्यहाँ भेला भएका छन्। शाही राजदूतहरूले एउटी जवान आइमाईको चित्र भएको सुन र चाँदीका सिक्काहरू बाँडिरहेका छन् र भीडहरू रमाहटले चिच्याइरहेका छन्। यत्रो होहल्ला हुनुको कारण के हो? अस्ट्रियाकी राजकुमारी, मारिया टेरेसा शहरमा आउँदैछिन् र उनी हंगेरीको नयाँ रानी हुने दिन नजिकै छ।
अब फेरि वर्तमान समयमा फर्कौं। तपाईंलाई यस महत्त्वपूर्ण राज्याभिषेकको स्थान हेर्न मन छ भने, तपाईं कहाँ जानुहुनेछ? मारिया टेरेसाको राजमहल हेर्न थुप्रै पर्यटकहरू ओइरिने भियना गएर त भएन नता हंगेरीको वर्तमान राजधानी, बुडापेस्ट गएर नै भयो। हेर्ने नै हो भने, तपाईं भियनाबाट ५६ किलोमिटर पूर्वतिर डानुबे नदी किनारामा अवस्थित ब्राटिस्लाभा जानुपर्नेछ।
हाल, ब्राटिस्लाभामा लगभग पाँच लाखजति मानिसहरू बसोबास गर्छन् र यो रमणीय देश स्लोभाकियाको राजधानी हो। यसका छिमेकी राजधानीहरू बुडापेस्ट, भियना र प्रागसित तुलना गर्दा ब्राटिस्लाभा सानो, कम महत्त्वपूर्ण जस्तो देखिन्छ। यद्यपि, यो दुई शताब्दीभन्दा लामो समयसम्म हंगेरीको राजधानी थियो र यस्तो सम्माननीय अधिकारको साथमा पाइने सारा महिमाको आनन्द यस शहरले उठाएको थियो। नहोस् पनि किन, ११ जना हंगेरी शासकहरूको राज्याभिषेक पनि यही शहरमा भएको थियो। तर यत्तिको महत्त्वपूर्ण हुनुको कारण के हो?
पुरातन बसोबास
युरोपको दोस्रो लामो नदी, डानुबेले गर्दा ब्राटिस्लाभा एकदमै उपयुक्त
स्थानमा अवस्थित छ। विगतमा यो ठाउँ पुगेपछि डानुबेको प्रवाह अलि कम हुनुका साथै गहिरो पनि त्यति नभएकोले त्यहाँबाट वारपार गर्न सजिलो हुन्थ्यो। नदी वारपार गर्न पुलहरू निर्माण हुनु धेरै अघिदेखि गाईवस्तु र गाडाहरू मानिसहरूले यहींबाट तार्थे। तसर्थ, पुरातन समयदेखि नै हालको ब्राटिस्लाभा एउटा व्यस्त दोभान थियो। सा.यु.पू. १५०० तिरै यो शहर भएर उत्तर र दक्षिण युरोप जोड्ने महत्त्वपूर्ण ढुवानी मार्ग, आम्बर मार्ग चल्ती भइसकेको थियो। पछि, नजिकैको डाँडामा किल्ला अर्थात् हालको ब्राटिस्लाभा महल निर्माण गरेपछि यहाँबाट आवतजावत नियन्त्रण गरियो।तपाईं अतीतमा फर्कनसक्नु हुँदो हो त, नदी तर्दा कोसित जम्का भेट हुनेथियो। सा.यु.पू. चौथो शताब्दीतिर हो भने सेल्टिक मानिसहरूसित भेट हुनेथियो जसले यो ठाउँलाई आफ्नो संस्कृतिको केन्द्रबिन्दु बनाएका थिए। यो डाँडा स्थानीय सेल्टिक समुदायको लागि एक प्रकारको किल्लासरह थियो र तिनीहरू माटाका भाँडाकुँडा र सिक्काहरू बनाउँथे।
हाम्रो सामान्य युगको सुरुतिर जानुभएको भए नि? तपाईंलाई ल्याटिन भाषा आउँछ भने स्थानीय बासीहरूसित कुराकानी गर्न सक्नुहुन्थ्यो किनभने त्यतिबेलासम्म रोमीहरूले आफ्नो इलाका उत्तरी किनारामा डानुबेसम्म फैलाइसकेका थिए। तथापि, त्यति नै बेला पश्चिमबाट आइरहेका जर्मेनिक भाषीहरूसित पनि तपाईंको भेटघाट हुनसक्थ्यो।
तपाईंले मध्य युगतिर अर्थात् आठौं शताब्दीतिर फर्कने विचार गर्नुभयो भने, तपाईंले थरिथरिका मानिसहरू भेट्नु हुनेथियो। यतिबेलासम्म त्यो महा बसाइँ सराइ कार्य भइसकेको थियो र पूर्वबाट आएका स्लाभिक मानिसहरू त्यहाँ बसोबास गर्न थालिसकेका थिए। हंगेरीका मानिसहरूले दक्षिणतिर आफ्नो घरबार बसालेर ब्राटिस्लाभा क्षेत्रमा पनि घुसिसकेका थिए। तर, कुन्नि किन हो, स्लाभिक प्रभाव रहिरह्यो। अनि यो दशौं शताब्दीमा निर्माण गरिएको पहिलो महलको स्लाभिक नाउँबाटै प्रस्ट हुन्छ। यसलाई ब्राजालाऊस्पर्ज भनिन्थ्यो र त्यसको अर्थ हो, “ब्रास्लाभको महल” अनि एक जना उच्च सैन्य पदाधिकारीको नाउँबाट राखिएको हो भन्ने धारणा छ।
मध्यकालीन शहर
समय बित्दै जाँदा हाल स्लोभाकिया भनिने देश हंगेरीको एउटा भाग बन्न पुग्यो। सा.यु. १२११ देखिको पुरानो ऐतिहासिक विवरण केलाउने हो भने हंगेरीको सबैभन्दा मजबुत किल्लारूपी महल नै ब्राटिस्लाभा महल थियो। तीस वर्षपछि टाटर आक्रमणकारीहरूको आक्रमणमा पनि केही नहुँदा यो कत्तिको मजबुत छ भन्ने कुरा साबित भयो। त्यो सफलताले गर्दा महल वरपर मानिसहरूले बसोबास गर्न थाले र सन् १२९१ मा हंगेरी राजा ओन्ड्रा तृतीयले यो शहरलाई नगरपालिकाले पाउने सबै सुविधाहरू प्रदान गरे। यहाँका बासिन्दाहरूले आफ्नो नगरपिता निर्वाचन गर्ने, डानुबे नदीमा मालताल ओसारपसार गर्ने र “जल थल दुवै मार्गबाट” बिना कुनै रोकटोक व्यापार गर्ने अधिकार पाए। यो शहरका घमाइलो डाँडाहरूमा दाखबारीहरू फस्टाउने हुँदा यहाँका नागरिकहरूलाई आफ्नो घरैबाट मद्य बेच्न पाउने प्रबन्ध असाध्यै मन पऱ्यो।
पछि हंगेरीका राजाहरूले यो शहरलाई थप सुविधाहरू प्रदान गरे र फलस्वरूप शहरलाई अझ विस्तार गर्न सम्भव भयो। सन् १५२६ देखि लामो समयसम्म अर्थात् १७८४ सम्ममा ब्राटिस्लाभा नै हंगेरीको राजधानी भइसकेको थियो। त्यतिञ्जेल, ब्राटिस्लाभाको जनजातीय समूहहरू
अझ विविध हुन थाले। यहाँका प्रायजसो मानिसहरू स्लाभिक र हंगेरियाली थिए तर जर्मन र यहूदी मानिसहरूको आगमनले छ्यासमिस हुन थाल्यो। अनि १७ औं शताब्दीमा टुर्केली प्रभुता पश्चिम र उत्तरतिर विस्तार हुँदै जाँदा थुप्रै क्रोएशियालीहरूले ब्राटिस्लाभाको इलाकामा शरण लिए र युरोपमा क्याथोलिक र प्रोटेस्टेन्टहरूबीच चर्किएको तीस वर्षे युद्धबाट भागेका चेक देशका शरणार्थीहरू पनि यहीं ओइरिए।बीसौं शताब्दीमा ब्राटिस्लाभा
बीसौं शताब्दीको सुरुतिरसम्ममा ब्राटिस्लाभा बहुजातीय, बहुसांस्कृतिक शहर भइसकेको थियो। पसलमा गएर मालताल किन्दा जर्मन वा हंगेरियाली भाषामा बोल्यो कि त सबैले बुझिहाल्थे। तर चेक बासी र रोमानी (जिप्सीहरू) अनि यहुदी समुदायले पनि महत्त्वपूर्ण भूमिका खेल्यो। प्रथम विश्वयुद्ध सुरु हुनुअघि १५ प्रतिशत जनसंख्या मात्र स्लोभाकी थिए। तर १९२१ सम्ममा यो शहरका थुप्रै राष्ट्रियताहरूमध्ये स्लोभाकीहरूको बाहुल्यता थियो।
धेरै समय नबित्दै युरोपमाथि दोस्रो विश्वयुद्धको कालो बादल मडारिन थाल्यो। अनि सुरु भयो, ब्राटिस्लाभाको दुःखद् इतिहास जसले जनजातीय मेलमिलापलाई भताभुंग पारिदियो। सर्वप्रथम त, चेकहरूले त्यो ठाउँ छोड्नुपऱ्यो।
त्यसपछि, रोमानी र यहुदीहरूलाई देश निकाला गरियो र हजारौंले यातना शिविरहरूमा आफ्नो ज्यान गुमाए। दोस्रो विश्वयुद्धपछि अधिकांश जर्मन भाषी बासिन्दाहरूलाई देश निकाला गरियो। अन्तमा गएर यी विभिन्न जनजातीय समूहका मानिसहरू आ-आफ्नो ठाउँ फर्के तापनि तिनीहरूको उपस्थितिले ब्राटिस्लाभाको वातावरणलाई अझै पनि सुमधुर बनाउँछ।अहिले ब्राटिस्लाभाको भ्रमण
तपाईं पनि हामी सँगसँगै अहिलेको ब्राटिस्लाभा शहरमा अलि टहल्नु भए कसो होला? सर्वप्रथम, हामी पुनर्निर्माण गरिएको सुन्दर ब्राटिस्लाभा महल जाऔं। महलको चौरबाट हामी डानुबेको दुवै छेउसम्म फैलिएको शहरको रमणीय दृश्य देख्छौं।
अलि ओरालो लागेपछि, महलको ठ्याक्कै मनितिर पुरानो शहर अर्थात् ब्राटिस्लाभाको ऐतिहासिक केन्द्रबिन्दुमा आइपुग्छौं। विविधताले भरिएको साँघुरो गल्लीहरूमा हिंड्दा हामी अतीतमा पुगेको आभास पाउँछौं। आकर्षक दरबार तथा मध्यम वर्गीय धनीमानीहरूको घर देख्छौं। एक कप चिया वा कफी पिउन अनि ओखर वा पोस्तदाना भएको ब्राटिस्लाभाका प्रख्यात केकहरू खान यहाँको ऐतिहासिक कफी पसलमा जान सक्नुहुन्छ।
वर्षभरि नै आगन्तुकहरू पुरानो शहरको छेवैमा अवस्थित डानुबे नदीको किनारामा टहलेर आनन्द लिइरहेका हुन्छन्। यहाँ आउने सबैले आधुनिक ब्राटिस्लाभाको चिनारी त देखि हाल्छन्। अर्थात् यहाँको नयाँ पुल र अग्लो ढल्केको धरहरा टुप्पाको रेस्टुराँ। अनि यसो हेर्दा यो रेस्टुराँ नदीको अर्को छेऊको बसोबास पेट्जाल्कामाथिको आकाशमा फैलिएको जस्तो देखिन्छ।
तपाईंलाई ब्राटिस्लाभामा थुप्रै निर्माण कार्यहरू भइरहेको जस्तो लाग्यो भने कुरा ठीकै हो। हालै पुनर्निर्माण गरिएको पुरानो शहरबाहेक १९९० को दशकमा स्टिल तथा काँचका थुप्रै आकर्षक भवनहरू छ्यासछ्यासती देखिन थाले। यी हुन्, शहरलाई आधुनिक देखाउने व्यापारिक केन्द्र तथा बैंकहरू।
तपाईं पक्कै पनि यो भ्रमणपछि एउटा राम्रो स्मारिका लैजान चाहनुहुन्छ होला। त्यसकारण, झल्लर राखेर बनाइएका राम्रा राम्रा टेबलपोस वा राष्ट्रिय पोशाकमा सिंगारिएका पुतलीहरू जस्ता हस्तकलाहरू बेच्ने पसलमा छिरौं। अथवा शहरको बीचको खुल्ला बजारमा गए पनि हुन्छ, जहाँ ब्राटिस्लाभाका बासिन्दाहरूले शताब्दीयौंदेखि किनमेल गर्दै आएका छन्, त्यसरी नै हामी पनि गर्नसक्छौं। सायद, तपाईं यस शहरमा अवस्थित वाच टावर सोसाइटीको सुन्दर शाखा कार्यालय पनि भ्रमण गर्न चाहनुहुन्छ होला।
सायद कुनै दिन तपाईं ब्राटिस्लाभाको भ्रमण गर्न साँच्चै जानुहुन्छ होला। अनि जानुभएको खण्डमा, तपाईंलाई नदी तर्ने ओबानो भूमिबाट सुरु भएको विविधताले भरिएको यस आधुनिक राजधानी पक्कै रमाइलो लाग्नेछ।
[पृष्ठ १५-मा भएको चित्र]
मारिया टेरेसा
[स्रोत]
North Wind Picture Archives
[पृष्ठ १७-मा भएको चित्र]
स्लोभाक राष्ट्रिय नाचघर
[पृष्ठ १७-मा भएको चित्र]
पुरानो शहरको एउटा सडक
[पृष्ठ १८-मा भएको चित्र]
नयाँ पुल र ढल्केको धरहरा
[पृष्ठ १८-मा भएको चित्र]
यहोवाका साक्षीहरूको शाखा कार्यालय र राज्यभवन