“यस्तो प्रेम देखेर हाम्रो मनै छोयो”
अप्रिल २५, २०१५ शनिबारको दिन नेपालमा ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गयो। भूकम्पको केन्द्रबिन्दु राजधानी सहर काठमाडौंदेखि लगभग ८० किलोमिटर उत्तर-पश्चिममा थियो। यस भूकम्पमा परेर ८ हजार ५ सयभन्दा धेरै मानिसले आफ्नो ज्यान गुमाए। यो नेपालको इतिहासमै सबैभन्दा घातक विपत्ति साबित भयो। पाँच लाखभन्दा धेरै घर तहसनहस भए। नेपालका २ हजार २ सय यहोवाका साक्षीहरूमध्ये धेरैजसो प्रकोपग्रस्त इलाकामै बस्थे। दुःखको कुरा, एक बहिनी र उनका दुई छोराछोरीले ज्यान गुमाए।
मिसेल नाम गरेकी साक्षी बहिनीले यसो भनिन्, “भूकम्प आउँदा धेरैजसो ठाउँमा हाम्रो सभा भइरहेको थियो। घरमै भएको बेला भूकम्प आएको भए अझ धेरैले ज्यान गुमाउने थिए वा घाइते हुने थिए।” सभामा भएकाहरू के कारणले जोगिन सके? एउटा ठूलो कारण राज्यभवनको * डिजाइन थियो।
“बल्ल यसको फाइदा थाह पायौं!”
नेपालका राज्यभवनहरू भूकम्प प्रतिरोधी तरिकाले बनाइएका छन्। राज्यभवन निर्माण परियोजनामा संलग्न मान बहादुरले भने: “यस्तो सानो भवनको लागि पनि किन यत्ति बलियो जग हाल्नुपऱ्यो भनेर मानिसहरू हामीलाई सोध्ने गर्थे। बल्ल यसको फाइदा थाह पायौं!” भूकम्पपछि राज्यभवनहरूमा बास बस्न अनुमति दिइयो। पराकम्पहरू आइरहे तापनि यहोवाका साक्षीहरू र तिनीहरूका छिमेकीहरूले राज्यभवनमा सुरक्षित महसुस गरे।
मण्डलीको हेरविचार गर्ने एल्डरहरूले सम्पर्कमा नआएका मण्डलीका सदस्यहरूको तुरुन्तै खोजी गर्न थाले। बबिता भन्छिन्, “एल्डरहरूले आफ्नो हितलाई भन्दा मण्डलीका सदस्यहरूको हितलाई ध्यान दिनुभयो। यस्तो प्रेम देखेर हाम्रो मनै छोयो।” नेपालमा यहोवाका साक्षीहरूको गतिविधिको निरीक्षण गरिरहेको समितिका तीन जना सदस्य र क्षेत्रीय निरीक्षकहरू भूकम्पको भोलिपल्टै मण्डली-मण्डलीमा गए र आवश्यक मदत गरे अनि स्थानीय एल्डरहरूलाई साथ दिए।
भूकम्प गएको छ दिनपछि अमेरिकामा रहेको यहोवाका साक्षीहरूको मुख्य कार्यालयबाट ग्यारी ब्रो आफ्नी पत्नी रूबीसितै नेपाल आए। अगाडि चर्चा गरिएको समितिको एक जना सदस्य रूबेनले यसो भने, “काठमाडौं अस्तव्यस्त थियो अनि पराकम्प पनि आइरहेको थियो। त्यसैले भाइ ब्रो आउन सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा पक्का थिएन। तर उहाँ जसरी भए पनि आउन चाहनुहुन्थ्यो र आउनु पनि भयो। स्थानीय साक्षीहरूले उहाँको भ्रमणबाट निकै सान्त्वना पाए।”
‘हामी पहिलेभन्दा घनिष्ठ भयौं’
नेपालको यहोवाका साक्षीहरूको कार्यालयमा काम गर्ने सिलासले यसो भने, “टेलिफोन सेवा सुचारु हुनेबित्तिकै दिनरात टेलिफोनको घण्टी बज्न थाल्यो। विश्वभरिका हाम्रा दाजुभाइ दिदीबहिनीहरूले हाम्रो चिन्ता गर्नुभयो। हामीले कसै-कसैको भाषा बुझ्न सकेनौं तर उहाँहरूले हामीलाई देखाउनुभएको माया र उहाँहरूको मदत गर्ने इच्छुकता भने महसुस गर्न सक्यौं।”
भूकम्प गएको थुप्रै दिन पछिसम्म पनि स्थानीय साक्षीहरूले राज्यभवनमा खानेकुराहरू ल्याए र खाँचोमा परेकाहरूलाई बाँडचुँड गरे। ‘प्राकृतिक प्रकोप राहत समिति’ पनि गठन गरियो। त्यसको लगत्तै जापान, बंगलादेश, भारतलगायतका मुलुकहरूबाट राहत सामग्रीहरू आउन थाल्यो। केही दिनभित्रै यहोवाका साक्षीहरूको चिकित्सा टोली पनि युरोपबाट नेपाल आइपुग्यो र एउटा राज्यभवनमा शिविर बसाल्यो। त्यस टोलीले तुरुन्तै काम थाल्यो। तिनीहरूले भूकम्प पीडितहरूको शारीरिक अवस्था जाँच्नुका साथै उनीहरूलाई लागेको भावनात्मक चोट सहन पनि मदत गरे।
थुप्रैको भावनालाई समेट्दै उत्तराले यसो भनिन्: “भूकम्प एकदमै डरलाग्दो र भयानक थियो। तर त्यसपछि हामीले आफ्नो आध्यात्मिक परिवारसित अझ घनिष्ठ भएको महसुस गऱ्यौं।” हो, यहोवाका सेवकहरूको यहोवाप्रतिको प्रेम र एक-आपसबीचको प्रेमलाई भूकम्पले रत्तिभर कमजोर बनाएन। बरु त्यो प्रेमलाई अझ प्रगाढ बनायो।
^ अनु. 3 राज्यभवन भनेको यहोवाका साक्षीहरू भेला हुने ठाउँ हो।