गायसले आफ्ना भाइहरूलाई कसरी मदत गरे?
प्रथम शताब्दीको अन्ततिर गायस र अरू ख्रीष्टियनहरूले विभिन्न चुनौतीको सामना गरे। कोही-कोहीले झूटो शिक्षा फैलाएर मण्डलीको एकता कमजोर बनाउन अनि फूट गराउन खोजिरहेका थिए। (१ यूह. २:१८, १९; २ यूह. ७) डियोत्रिफस भन्ने व्यक्तिले प्रेषित यूहन्नाको र अरूको विषयमा “दुष्ट कुरा” फैलाउँदै थिए, यात्रा गर्ने भाइहरूलाई स्वागत-सत्कार गर्दैनथे अनि अरूलाई पनि त्यसो गर्न दिंदैनथे। (३ यूह. ९, १०) यस्तै समयतिर यूहन्नाले गायसलाई पत्र लेखे। इस्वी संवत् ९८ तिर लेखिएको यो पत्र अहिले ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा “यूहन्नाको तेस्रो पत्र” भनेर चिनिन्छ।
विभिन्न चुनौती सामना गर्नुपरे पनि गायसले विश्वासी भई यहोवाको सेवा गरिरहे। तिनले आफू विश्वासयोग्य भएको कसरी देखाए? हामीले किन गायसको उदाहरण अनुकरण गर्नुपर्छ? यसो गर्न यूहन्नाको पत्रले कसरी मदत गर्छ?
मायालु साथीलाई पत्र
तेस्रो यूहन्नाका लेखकले आफूलाई “एल्डर” अर्थात् “वृद्ध पुरुष” भनेर चिनाएका छन्। गायसलाई ती लेखक यूहन्ना हुन् भनेर चिन्न त्यति शब्द नै काफी थियो। किनभने गायस यूहन्नाको आध्यात्मिक छोरा थिए। यूहन्नाले तिनलाई ‘प्रिय गायस, जसलाई म साँच्चै प्रेम गर्छु’ भनेर सम्बोधन गरे। अनि गायसको आध्यात्मिक स्वास्थ्य राम्रो भएजस्तै शारीरिक स्वास्थ्य पनि राम्रो होस् भनेर कामना गरे। माया अनि प्रशंसाको कस्तो राम्रो अभिव्यक्ति!—३ यूह. १, २, ४.
हुन त पत्रमा खुलाइएको छैन तर गायस मण्डलीका निरीक्षक हुन सक्छन्। गायसले अपरिचित भाइहरूलाई पनि अतिथि-सत्कार गरेकोमा यूहन्नाले तिनको प्रशंसा गरे। अतिथि-सत्कार गरेर गायसले आफू विश्वासयोग्य भएको प्रमाण दिए भनेर यूहन्नाले बताए। किनभने परमेश्वरका सेवकहरूको एउटा चिनारी अतिथि-सत्कार गर्नु हो।—उत्प. १८:१-८; १ तिमो. ३:२; ३ यूह. ५.
यूहन्नाले गायसको प्रशंसा गरेको कुराबाट ख्रीष्टियनहरू प्रेषित यूहन्नाको घरमा अनि विभिन्न मण्डलीमा आउजाउ गर्ने गर्थे भन्ने देखिन्छ। सायद यसरी यात्रा गर्ने भाइहरूले यूहन्नाकहाँ खबरहरू ल्याउँथे। अनि ती भाइहरूबाटै यूहन्नाले मण्डलीहरूको अवस्थाबारे जानकारी पाउँथे होलान्।
यात्रा गर्ने भाइहरू आफ्ना ख्रीष्टियन भाइबहिनीसँगै बस्न चाहन्थे। किनभने त्यतिबेलाका पौवाहरूमा अनैतिक कार्यहरू हुन्थे र त्यहाँको सेवा-सुविधा पनि राम्रो हुँदैनथ्यो। त्यसैले समझदार यात्रीहरू सम्भव भएसम्म आफ्नै साथीभाइको घरमा बस्थे। विभिन्न मण्डलीमा यात्रा गर्ने परिभ्रमण निरीक्षकहरू पनि आफ्नै भाइबहिनीको घरमा बस्थे।
“तिनीहरू . . . उहाँको नामको खातिर निस्किएका हुन्”
यात्रा गर्ने भाइहरूलाई अतिथि-सत्कार गर्नू भनी यूहन्नाले गायसलाई फेरि प्रोत्साहन दिए। यूहन्नाले तिनलाई यसो भने: “तिनीहरूलाई यात्रामा पठाउन तिमीले जे-जे गर्छौ, त्यो परमेश्वरलाई मनपर्ने किसिमको होस्।” यहाँ ‘यात्रामा पठाउन जे-जे गर्छौ’ भन्नुको अर्थ तिनीहरूलाई अर्को गन्तव्यसम्म पुग्नको लागि चाहिने कुराहरू जुटाइदिनु हो। गायसले पहिला पनि यात्रा गर्ने ती भाइहरूलाई यस्तो प्रेम देखाएका थिए। अनि गायसले देखाएको प्रेम र विश्वासबारे यूहन्नाले ती भाइहरूबाट सुनेका थिए।—३ यूह. ३, ६.
ती भाइहरूमध्ये कोही मिसनरी, कोही यूहन्नाको प्रतिनिधि वा परिभ्रमण निरीक्षक थिए होलान्। कुरा जेसुकै होस्, तिनीहरूले सुसमाचार फैलाउने काममा टेवा पुऱ्याउन यात्रा गरेका थिए। यूहन्नाले यसो भने: “तिनीहरू . . . उहाँको नामको खातिर निस्किएका हुन्।” (३ यूह. ७) हो, तिनीहरू परमेश्वरको नामको खातिर निस्किएका थिए। त्यसैले ती भाइहरू ख्रीष्टियन मण्डलीका सदस्य थिए अनि अरू भाइबहिनीबाट न्यानो स्वागत पाउन योग्य थिए। यसबारे यूहन्नाले यस्तो लेखे: “यस्ता मानिसहरूको अतिथि-सत्कार गर्नु हाम्रो कर्तव्य हो। यसरी हामी सत्यमा तिनीहरूको सहकर्मी बन्न सक्नेछौं।” — ३ यूह. ८.
गाह्रो अवस्थासित जुझ्न मदत
यूहन्नाले गायसलाई धन्यवाद दिन मात्र होइन बरु एउटा गम्भीर समस्यासित जुझ्नको लागि मदत दिन पनि पत्र लेखेका थिए। केही कारणले गर्दा मण्डलीका एक सदस्य डियोत्रिफस परिभ्रमण निरीक्षकहरूलाई सत्कार गर्दैनथे। अनि जसले गर्न चाहन्थे, तिनीहरूलाई पनि गर्न दिंदैनथे। — ३ यूह. ९, १०.
सम्भव भए पनि विश्वासी ख्रीष्टियनहरू डियोत्रिफससँग बस्न चाहँदैनथे होलान्। उनी मण्डलीमा पहिलो स्थान ओगट्न चाहन्थे। यूहन्नाले भनेको कुनै पनि कुरा स्विकार्दैनथे। बरु उल्टै प्रेषित यूहन्ना र अरूको बारेमा दुष्ट कुरा फैलाउँदै हिंड्थे। हुन त यूहन्नाले डियोत्रिफसलाई कहिल्यै झूटा शिक्षक भनेनन् तर उनी यूहन्नाको अख्तियार तिरस्कार गर्दै थिए। भाइबहिनीमाझ ठूलो हुन चाहेकोले अनि ख्रीष्टियनहरूलाई नसुहाउने मनोवृत्ति देखाएकोले उनको वफादारीमाथि प्रश्न उठ्यो। डियोत्रिफसको विवरणले महत्त्वाकाङ्क्षी र अहङ्कारी मानिसहरूले मण्डलीमा फूट ल्याउन सक्छन् भन्ने कुरा देखाउँछ। त्यसैले यूहन्नाले गायसलाई ‘जे खराब छ, त्यसको अनुसरण नगर’ भने र यो सल्लाह हामीलाई पनि लागू हुन्छ। — ३ यूह. ११.
असल काम गर्नुपर्ने सबैभन्दा राम्रो कारण
डियोत्रिफस राम्रो उदाहरण होइनन्। तर डेमेत्रियसको राम्रो उदाहरणबारे यूहन्नाले यसो भने: “डेमेत्रियसको असल गुणबारे तिनीहरू सबैले . . . साक्षी दिएको छ। वास्तवमा, हामीले पनि साक्षी दिइरहेका छौं अनि तिमीलाई थाह छ, हामीले दिने साक्षी साँचो छ।” (३ यूह. १२) डेमेत्रियसलाई गायसको सहायता चाहिएको हुन सक्छ। त्यसैले आफ्नो पत्रमा यूहन्नाले डेमेत्रियसको परिचय दिएको अनि तिनको राम्रो गुणबारे तारिफ गरेको देखिन्छ। डेमेत्रियस आफैले यो पत्र गायससम्म पुऱ्याएका हुन सक्छन्। यूहन्नाको प्रतिनिधिको रूपमा वा सम्भवतः परिभ्रमण निरीक्षकको रूपमा डेमेत्रियसले यूहन्नाले लेखेको कुरालाई अझ प्रस्ट पारिदिएका हुन सक्छन्।
अतिथि-सत्कार गरिरहेको भए तापनि यूहन्नाले किन गायसलाई अतिथि-सत्कार गरिरहन प्रोत्साहन दिए? गायसको साहस बढाउनको लागि हो कि? डियोत्रिफसले अतिथि-सत्कार गर्नेहरूलाई मण्डलीबाट निकाल्न खोजिरहेकोले गायसले पनि अतिथि-सत्कार गर्न छोड्ला भन्ने चिन्ताले हो कि? कारण जेसुकै होस्, यूहन्नाले गायसलाई यसो भनेर प्रोत्साहन दिए: “जसले असल गर्छ, ऊ परमेश्वरको हो।” (३ यूह. ११) असल काम गर्नुपर्ने अनि त्यसलाई निरन्तरता दिनुपर्ने कत्ति राम्रो कारण!
के यूहन्नाको पत्र पाएपछि गायसले अतिथि-सत्कार गरिरहन प्रोत्साहन पाए? “जे असल छ, त्यसको अनुसरण” गर्न प्रोत्साहन मिलोस् भनेर यो पत्र बाइबलको भाग बनेको कुराबाट गायसले पक्कै प्रोत्साहन पाए भन्ने कुरा प्रस्ट हुन्छ।
तेस्रो यूहन्नाको किताबबाट सिक्न सकिने पाठहरू
प्राचीन समयका हाम्रा प्रिय भाइ गायसको बारेमा हामीलाई थाह भएको कुरा यति नै हो। तैपनि तिनको जीवनको छोटो विवरणबाट हामी थुप्रै पाठ सिक्न सक्छौं।
पहिलो, कोही विश्वासी भाइबहिनी सुसमाचार सुनाउन हामीकहाँ आएकोले नै हामीमध्ये धेरैजसोले सच्चाइ सिक्ने मौका पायौं। हुन त मण्डलीका सबै जना प्रचार गर्न टाढा-टाढासम्म यात्रा गर्न सक्दैनन् होला। तर सुसमाचार सुनाउन टाढा-टाढासम्म यात्रा गर्ने भाइबहिनीलाई जस्तै, क्षेत्रीय निरीक्षक अनि तिनकी श्रीमतीलाई गायसले जस्तै कुनै न कुनै तरिकामा सहयोग र प्रोत्साहन दिन सक्छौं। साथै आवश्यकता धेरै भएको ठाउँमा प्रचार गर्न आफ्नै देशमा वा विदेशमा बसाइँ सर्नेहरूलाई केही मदत दिन सक्छौं। त्यसैले ‘अतिथि-सत्कार गर्ने बानी बसालिरहौं।’ — रोमी १२:१३; १ तिमो. ५:९, १०.
दोस्रो, मण्डलीमा अख्तियार नस्विकार्ने मानिसहरू देखा परिहाल्यो भने पनि हामीले छक्क मान्नुपर्दैन। कसै-कसैले यूहन्नाको अख्तियारलाई स्विकारेनन्। त्यसैगरि प्रेषित पावलको अख्तियार नस्विकार्ने मानिसहरू पनि थिए। (२ कोरि. १०:७-१२; १२:११-१३) त्यसोभए हाम्रो मण्डलीमा पनि यस्तै अवस्था देखा पर्दा के गर्न सक्छौं? पावलले तिमोथीलाई यस्तो सल्लाह दिए: “प्रभुको दासले झगडा गर्नुहुँदैन, बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल व्यवहार गर्छ, जससित सिकाउने योग्यता छ, जो अरूले दुर्व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ र सल्लाह सुन्न अस्वीकार गर्नेहरूलाई नम्र भएर सम्झाउँछ।” कसैले रिस उठाउँदा कोमल व्यवहार देखाउन छोडेनौं भने अरूको आलोचना गर्ने बानी परिसकेकाहरूले बिस्तारै आफ्नो मनोवृत्ति परिवर्तन गर्न सक्छन्। अनि हुन सक्छ, यहोवाले “ती मानिसहरूलाई क्षमा दिएर सत्यको सही ज्ञान हासिल गर्न मदत” दिनुहुनेछ।—२ तिमो. २:२४, २५.
तेस्रो, खेदोको बाबजुद वफादार भई यहोवाको सेवा गरिरहने भाइबहिनीलाई हामीले याद गर्नुपर्छ, तिनीहरूको प्रशंसा गर्नुपर्छ। गायसले जे सही छ, त्यही गरेका छन् भन्ने कुरामा प्रेषित यूहन्नाको पत्रले तिनलाई ढुक्क महसुस गरायो अनि त्यसै गरिरहन प्रोत्साहन दियो। त्यसैगरि आज एल्डरहरूले पनि यूहन्नाको उदाहरण अनुकरण गर्दै भाइबहिनीको प्रशंसा गर्नुपर्छ। यसो गर्दा ती भाइबहिनी आध्यात्मिक रूपमा “थाक्नेछैनन्।” — यशै. ४०:३१; १ थिस्स. ५:११.
बाइबलका किताबहरूमध्ये प्रेषित यूहन्नाले गायसलाई लेखेको यो पत्र सबैभन्दा छोटो किताब हो। ग्रीक भाषामा यस पत्रमा २१९ वटा मात्र शब्द छन्। तैपनि यो पत्र आज ख्रीष्टियनहरूको लागि निकै बहुमूल्य छ।