सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको राज्यको खोजी गर्नुहोस्‌, भौतिक चिजबिज होइन

परमेश्‍वरको राज्यको खोजी गर्नुहोस्‌, भौतिक चिजबिज होइन

‘परमेश्‍वरको राज्यको निरन्तर खोजी गर अनि यी कुरा तिमीहरूलाई दिइनेछ।’—लूका १२:३१.

गीत: ४०, ९८

१. हाम्रो चाहना र आवश्‍यकताबीच के भिन्‍नता छ?

 भनिन्छ, मानिसको आवश्‍यकताभन्दा चाहना धेरै हुन्छ। धेरै जनालाई आफ्नो आवश्‍यकता र चाहनाबीच भिन्‍नता छुट्याउन गाह्रो लाग्छ जस्तो देखिन्छ। त्यसोभए आवश्‍यकता र चाहनाबीच के भिन्‍नता छ त? “आवश्‍यकता” भनेको जीवन निर्वाह गर्न नभई नहुने कुराहरू हुन्‌। जस्तै: गाँस, बास, कपास अति आवश्‍यक कुरा हुन्‌। तर “चाहना” भनेको दैनिक जीवन बिताउन आवश्‍यक नपर्ने कुराहरू प्राप्त गर्ने इच्छा हो।

२. मानिसहरू कस्ता कुराहरू प्राप्त गर्न चाहन्छन्‌?

आफू बस्ने ठाउँअनुसार मानिसको चाहना पनि फरक-फरक हुन्छ। विकासोन्मुख देशका मानिसहरू नयाँ मोबाइल, मोटर साइकल वा एक टुक्रा भए पनि आफ्नै जग्गा होस्‌ भन्‍ने चाहन्छन्‌। विकसित देशका मानिसहरूचाहिं अझै सानदार दराज, अझै ठूलो महल अथवा भर्खरै बजारमा भित्रिएका नयाँ गाडीहरू किन्‍न चाहन्छन्‌। यी दुवै अवस्थाको पछाडि हामी ठूलो खतरा लुकेको पाउँछौं; त्यो हो भौतिकवादको पासो। किनभने आफूलाई आवश्‍यक होस्‌ या नहोस्‌ अथवा किन्‍न सक्ने अवस्थामा होस्‌ या नहोस्‌, मानिसहरूमा अझ धेरै कुरा प्राप्त गर्ने चाहना लुकेको हामी यहाँ देख्छौं।

भौतिकवादको पासोमा नपर्नुहोस्‌

३. भौतिकवाद भनेको के हो?

भौतिकवाद भनेको के हो? भौतिकवाद भनेको आध्यात्मिक कुरालाई भन्दा भौतिक कुरालाई धेरै महत्त्व दिने झुकाव हो। यो व्यक्‍तिको मनभित्र हुने कुरा हो; अनि उसको चाहना, प्राथमिकता अनि लक्ष्यमा पनि यो कुरा झल्किन्छ। यस्तो झुकाव हुने व्यक्‍तिलाई जति सामान थुपारे पनि ‘पुगेन’ भन्‍ने लाग्न सक्छ। अनि अर्को कुरा, कुनै व्यक्‍तिसित प्रशस्त मात्रामा सरसम्पत्ति छ वा उसले महँगो चिजबिज किन्छ भन्दैमा उसलाई भौतिकवादी भन्‍न मिल्दैन; गरिब व्यक्‍तिहरू पनि भौतिकवादी हुन सक्छन्‌ र राज्य गतिविधिलाई प्राथमिकता नदिने हदसम्म पुग्न सक्छन्‌।—हिब्रू १३:५.

४. सैतानले “आँखाको अभिलाषा”-लाई कसरी चलाउँछ?

सैतानले संसारको विज्ञापन जगत्‌लाई चलाएर हामीलाई भौतिक कुराहरूप्रति गलत धारणा राख्न लगाउँछ; भौतिक कुरा प्रशस्त भयो भने मात्र जीवन सुखी हुन्छ भनेर त्यसले मानिसहरूलाई बहकाएको छ। “आँखाको अभिलाषा” चलाएर हामीलाई लोभ्याउन त्यो खप्पिस छ। (१ यूह. २:१५-१७; उत्प. ३:६; हितो. २७:२०) यस संसारमा अनेक थरीका कुराहरू पाइन्छन्‌, कुनै-कुनै निकै काम लाग्ने हुन्छन्‌ भने कुनै त काम न काजका हुन्छन्‌। तीमध्ये धेरैजसो असाध्यै लोभलाग्दा हुन्छन्‌। के तपाईंले आवश्‍यकता नभए पनि विज्ञापनमा देखेर वा पसलमा सजाइराखेको देखेर कुनै सामान किन्‍नुभएको छ? पछि बिनसित्ति किनेछु जस्तो लाग्यो कि? यस्ता अनावश्‍यक कुराहरूले हाम्रो जीवन झन्झटिलो र अझ बोझिलो बनाउँछ। यी कुराहरूले हामीलाई अलमल्याउनुका साथै बाइबल पढ्‌ने, सभाको तयारी गर्ने, सभामा उपस्थित हुने अनि प्रचारमा भाग लिने हाम्रो आध्यात्मिक तालिकामा पनि बाधा पुऱ्‍याउँछ। नबिर्सनुहोस्‌, प्रेषित यूहन्‍नाले हामीलाई यस्तो चेतावनी दिएका छन्‌: ‘संसार र त्यसको अभिलाषा बितेर जाँदैछ।’

५. भौतिक कुराहरू थोपर्नमै आफ्नो शक्‍ति खर्च गर्नेहरूको नतिजा कस्तो हुन्छ?

हामी यहोवाको नभई धनसम्पत्तिको दास बनेको सैतान चाहन्छ। (मत्ती ६:२४) त्यसोभए, भौतिक कुराहरू थोपर्न आफ्नो सारा शक्‍ति खर्च गर्नेहरूको नतिजा कस्तो हुन्छ? आफ्नो स्वार्थी चाहना पूरा गर्न चुर्लुम्म डुबेकोले तिनीहरू आध्यात्मिक रूपमा खोक्रो महसुस गर्छन्‌ र निराश हुन्छन्‌। (१ तिमो. ६:९, १०; प्रका. ३:१७) यो कुरा बिउ छर्ने व्यक्‍तिको दृष्टान्तमा येशूले बताउनुभयो। उहाँले बताउनुभएअनुसार राज्य सन्देश ‘काँडाहरूको बीचमा छरिंदा’ “अरू कुराहरूको इच्छा तिनीहरूको मनमा घुस्छ र परमेश्‍वरको वचन निसासिन्छ र त्यसले फल फलाउँदैन।”—मर्कू. ४:१४, १८, १९.

६. बारूकबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

भविष्यवक्‍ता यर्मियाका सचिव बारूकलाई ध्यान दिनुहोस्‌। भविष्यवाणी गरिएअनुसारै यरूशलेमको विनाश नजिकिंदै थियो; तर बारूक भने ‘आफ्ना निम्ति ठूला कुराहरू खोज्नतिर’ लागे, जुन कुराहरू सधैं रहने थिएन। वास्तवमा तिनी यहोवाले दिन्छु भन्‍नुभएको एउटा कुरामा विश्‍वस्त हुनुपर्थ्यो। यहोवाले तिनलाई यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “तेरो प्राण [जीवन] म तँलाई युद्धको लुटको धनसरह छोडिदिनेछु।” (यर्मि. ४५:१-५) विनाश हुन लागेको त्यस सहरबाट यहोवाले कसैको पनि भौतिक कुराहरू जोगाउनुहुने थिएन। (यर्मि. २०:५) अहिले पनि कुरा त्यस्तै हो; यस संसारको अन्त नजिकिंदैछ, त्यसैले अहिलेको समय भनेको भौतिक कुराहरू थुपार्ने बेला होइन। जति नै बहुमूल्य भए तापनि महासङ्‌कष्टमा हामी सँगसँगै हाम्रो सम्पत्ति पनि जोगिनेछ भनेर आशा गर्न मिल्दैन।—हितो. ११:४; मत्ती २४:२१, २२; लूका १२:१५.

७. अब हामी कुन कुरा विचार गर्नेछौं र किन?

चाहिने-नचाहिने कुरामा नअलमलीकनै, भौतिकवादी नभईकनै वा अनावश्‍यक चिन्ता-फिक्री नगरीकनै हामी जीवनका आधारभूत आवश्‍यकता कसरी पूरा गर्न सक्छौं, यसबारे येशूले उत्तम सल्लाह दिनुभयो। डाँडाको उपदेश दिंदा उहाँले यो कुरा बताउनुभएको थियो। (मत्ती ६:१९-२१) त्यसोभए आउनुहोस्‌, मत्ती ६:२५-३४ मा उल्लेख गरिएको विवरण पढौं र विचार गरौं। यसो गऱ्‍यौं भने हामी भौतिक कुराहरूलाई नभई परमेश्‍वरको “राज्यको” निरन्तर खोजी गरिरहेका छौं भनेर ढुक्क हुन सक्छौं।—लूका १२:३१.

यहोवाले हाम्रो भौतिक आवश्‍यकता पूरा गर्नुहुन्छ

८, ९. (क) हामीले आफ्ना आवश्‍यकताबारे किन असाध्यै चिन्ता गर्नु हुँदैन? (ख) मानिसहरू र तिनीहरूको आवश्‍यकताबारे येशूलाई कुन कुरा थाह थियो?

मत्ती ६:२५ पढ्‌नुहोस्‌। येशूले आफ्ना श्रोताहरूलाई “आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल” भन्‍नुभयो। तिनीहरू चिन्ता गर्नै नपर्ने कुराहरूको लागि पनि चिन्ता गर्दै थिए। येशूले “छोडिहाल” भन्‍नुको पछाडि राम्रै कारण थियो। हुन त, कुनै-कुनै कुराको लागि चिन्ता-फिक्री गर्नु जायज होला, तर त्यसले हाम्रो प्राथमिकता र ध्यान अन्तै मोडेर आध्यात्मिक कुरा नै छायामा पारिदिन सक्छ। येशू आफ्ना चेलाहरूको धेरै ख्याल राख्नुहुन्थ्यो। त्यसैले उहाँले यो खतरनाक झुकावबारे डाँडाको उपदेशमा चार पटक चेतावनी दिनुभयो।—मत्ती ६:२७, २८, ३१, ३४.

भोलि के खाने, के पिउने र के लगाउने भनेर हामीले असाध्यै चिन्ता गर्नु हुँदैन भनी येशूले किन भन्‍नुभयो? यी त जीवनका आधारभूत आवश्‍यकताहरू हुन्‌ नि, होइन र? यी आवश्‍यक कुराहरू पूरा नहुँदा हामी चिन्तित हुनु स्वाभाविकै हो। यो कुरा येशूलाई पनि थाह थियो। उहाँ मानिसको दैनिक आवश्‍यकताप्रति सजग हुनुहुन्थ्यो। त्यतिमात्र होइन, शताब्दिऔंपछि ‘अन्तको दिनमा असाध्यै कठिन समय आउँदा’ आफ्ना चेलाहरूले गाह्रो अवस्था भोग्नेछन्‌ भनेर पनि उहाँलाई थाह थियो। (२ तिमो. ३:१) यसमा बेरोजगारी, आर्थिक मन्दी, अनिकाल, गरिबीको चपेटाजस्ता कुराहरू समावेश छन्‌। हो, खानेकुराभन्दा जीवन र लुगाफाटाभन्दा शरीर नै महत्त्वपूर्ण हो भनेर उहाँलाई थाह थियो।

१०. येशूले सिकाउनुभएको प्रार्थनामा उहाँले कुन कुरालाई महत्त्व दिनुभयो?

१० येशूले दिनुभएको डाँडाको उपदेशको सुरुतिर उहाँले आफ्ना चेलाहरूलाई भौतिक आवश्‍यकताको निम्ति स्वर्गमा बस्नुहुने बुबालाई यसरी बिन्ती गर्न सिकाउनुभयो: “हामीलाई आज दिनभरिको भोजन दिनुहोस्‌।” (मत्ती ६:११) अर्को विवरणमा उहाँले यसो भन्‍नुभयो: ‘हामीलाई आज दिनभरिको आवश्‍यक भोजन दिनुहोस्‌।’ (लूका ११:३) तर उहाँले दिनुभएको त्यो सल्लाहको अर्थ हामीले भौतिक कुराहरूको बारेमा औधी चिन्ता गर्नुपर्छ भन्‍ने त होइन। किनभने नमुना प्रार्थनामा उहाँले परमेश्‍वरको राज्यलाई प्राथमिकता दिन सिकाउनुभयो। (मत्ती ६:१०; लूका ११:२) त्यसपछि उहाँले आफ्ना श्रोताहरूको चिन्ता हटाउन यहोवाले सबै सृष्टिको कसरी ख्याल राख्नुहुन्छ, त्यो कुरा बताउनुभयो।

११, १२. आकाशका चराचुरुङ्‌गीहरूलाई ख्याल राख्नुहुने यहोवाको तरिकाबाट हामी के सिक्न सक्छौं? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

११ मत्ती ६:२६ पढ्‌नुहोस्‌। हामीले “आकाशका चराचुरुङ्‌गीलाई नियालेर” हेर्नुपर्छ। ती चराचुरुङ्‌गी साना भए पनि तीनथुप्रो फलफुल, किरा-फट्याङ्‌ग्रा खान्छन्‌। मानिसहरूको तुलनामा तिनीहरूले नै धेरै खान्छन्‌। तैपनि तिनीहरूले खनजोत, खेतीपाती केही गर्दैनन्‌। तिनीहरूका सबै आवश्‍यकता यहोवाले नै पूरा गरिदिनुहुन्छ। (भज. १४७:९) हुन त हो, यहोवाले तिनीहरूको गुँडमै लगेर खुवाइदिनुहुन्‍न। तिनीहरूले खानेकुरा आफै खोज्नुपर्छ तर यहोवाले प्रशस्त रूपमा दिनुहुन्छ।

१२ यहोवाले चराचुरुङ्‌गीका लागि खानेकुराको प्रबन्ध गर्नुभएजस्तै मानिसहरूको आधारभूत आवश्‍यकता पनि पूरा गर्नुहुन्छ भनेर येशू ढुक्क हुनुहुन्थ्यो।  [१] (१ पत्रु. ५:६, ७) हो, यहोवाले खानेकुरा हाम्रो भाँडैमा त पुऱ्‍याइदिनुहुन्‍न तर त्यसलाई उमार्न वा कमाउन हामीले गर्ने प्रयासमा भने उहाँले आशिष्‌ दिनुहुन्छ। कहिलेकाहीं उहाँले अरूलाई चलाएर पनि हाम्रो आवश्‍यकता पूरा गर्नुहुन्छ। यहोवाले चराचुरुङ्‌गीको लागि गुँड बनाइदिनुहुन्छ भनेर येशूले भन्‍नुभएन तर त्यसको लागि तिनीहरूलाई चाहिने सहज ज्ञान, सीप र आवश्‍यक सबै कुराको प्रबन्ध भने यहोवाले गरिदिनुभएको छ। त्यसरी नै हाम्रो परिवारको लागि चाहिने उपयुक्‍त बासको प्रबन्ध गर्न उहाँले हामीलाई मदत गर्न सक्नुहुन्छ।

१३. हामी आकाशका चराचुरुङ्‌गीभन्दा बहुमूल्य छौं भनेर किन भन्‍न सक्छौं?

१३ येशूले ‘तिमीहरू आकाशका चराचुरुङ्‌गीहरूभन्दा धेरै मोलका छैनौ र?’ भनी आफ्ना श्रोताहरूलाई सोध्नुभयो। आफ्नो जीवन मानिसहरूको लागि बलिदानस्वरूप दिंदैछु भन्‍ने कुरा उहाँलाई राम्ररी थाह थियो। (लूका १२:६, ७ तुलना गर्नुहोस्‌) हो, ख्रीष्टको बलिदान चराचुरुङ्‌गीको लागि अथवा अरू कुनै जीवजन्तुको लागि होइन, हामी मानिसहरूको लागि नै प्रबन्ध गरिएको थियो। किनभने हामीले अनन्त जीवन पाएको येशू चाहनुहुन्छ।—मत्ती २०:२८.

१४. चिन्ता गरेर के गर्न सकिंदैन?

१४ मत्ती ६:२७ पढ्‌नुहोस्‌। मानिसले चिन्ता गरेर आफ्नो आयु एक हात पनि लम्ब्याउन सक्दैन भनेर येशूले किन भन्‍नुभयो? किनभने दैनिक आवश्‍यकताबारे अनावश्‍यक रूपमा चिन्ता गर्दैमा हाम्रो जीवन लम्बिंदैन। बरु चिन्ताले हामीलाई चितामा पुऱ्‍याउँछ।

१५, १६. (क) यहोवाले मैदानका फुलहरूको ख्याल राख्नुभएको कुरालाई विचार गर्दा हामी उहाँबारे के सिक्न सक्छौं? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌) (ख) हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ र किन?

१५ मत्ती ६:२८-३० पढ्‌नुहोस्‌। प्रचार जाँदा, सभा सम्मेलन जाँदा वा अन्य आध्यात्मिक गतिविधिमा भाग लिंदा राम्रो लुगा लगाउने इच्छा कसको पो हुँदैन र? तैपनि हामीले “लुगाफाटाको विषयमा” औधी चिन्ता गर्नुपर्छ र? फेरि येशूले यहोवाको सृष्टिमा हाम्रो ध्यान खिच्नुहुन्छ। यस सन्दर्भमा हामी “मैदानका फुलहरू”-बाट धेरै कुरा सिक्न सक्छौं। येशूले ती फुलहरूबारे कुरा गर्दा सायद मैदानमा बिना मेहनत त्यतिकै फुल्ने लिली प्रजातिका फुलहरूबारे सोच्नुभएको हुन सक्छ, जुन अत्यन्त सुन्दर थिए। तिनीहरूले न परिश्रम गर्छन्‌, न त धागो कात्छन्‌, न त लुगा नै सिलाउँछन्‌। तर ती फुलहरू हेर्दा कत्ति मनमोहक देखिन्छन्‌। भन्‍ने नै हो भने, “सारा वैभवले सुसज्जित सुलेमानसमेत यी फुलहरूमध्ये एउटा जति पनि सिंगारिएका थिएनन्‌!”

१६ येशूले भन्‍न खोज्नुभएको मुख्य कुरामा ध्यान दिनुहोस्‌: “यदि परमेश्‍वरले . . . मैदानका बोटबिरुवालाई त पहिराउनुहुन्छ भने हे अल्पविश्‍वासीहरू हो, के उहाँले तिमीहरूलाई झनै पहिराउनुहुन्‍न र?” निश्‍चय पनि! तर उहाँका चेलाहरूको विश्‍वास धरमराएको थियो। (मत्ती ८:२६; १४:३१; १६:८; १७:२०) तिनीहरूले यहोवामाथिको आफ्नो विश्‍वास र भरोसा अझ बलियो बनाउनुपर्थ्यो। हामीबारे के भन्‍न सकिन्छ? यहोवा हाम्रो आवश्‍यकता पूरा गर्न इच्छुक मात्र होइन, त्यसो गर्न सक्षम पनि हुनुहुन्छ भन्‍ने कुरामा के हामी पूर्णतया विश्‍वस्त छौं?

१७. कुन कुराले यहोवासितको हाम्रो सम्बन्ध बिगार्न सक्छ?

१७ मत्ती ६:३१, ३२ पढ्‌नुहोस्‌। हामीले “अन्यजातिका मानिसहरूको” अनुकरण गर्नु हुँदैन। किनभने परमेश्‍वरको राज्यलाई प्राथमिकता दिनेहरूको ख्याल राख्नुहुने मायालु परमेश्‍वर यहोवामाथि तिनीहरू भरोसा गर्दैनन्‌। ‘अन्यजातिका मानिसहरूले दौडधूप गर्ने कुराहरूको’ पछि लाग्यौं भने यहोवासितको हाम्रो अनमोल सम्बन्ध बिग्रनेछ। तर हामीले गर्नै पर्ने कुरा अर्थात्‌ राज्य गतिविधिलाई पहिलो स्थान दियौं भने यहोवाले सधैं असल कुरा दिनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। “परमेश्‍वरको भक्‍ति”-ले हामीलाई “खान, लाउन र बस्न पाएपछि . . . त्यसैमा सन्तुष्ट” हुन उत्प्रेरित गर्छ। —१ तिमो. ६:६-८.

परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिनुभएको छ?

१८. हामीबारे यहोवालाई कुन कुरा थाह छ र उहाँले हाम्रो लागि के गर्नुहुनेछ?

१८ मत्ती ६:३३ पढ्‌नुहोस्‌। ख्रीष्टका चेलाहरूको हैसियतमा हामीले परमेश्‍वरको राज्यलाई सधैं पहिलो स्थान दिनुपर्छ। यसो गऱ्‍यौं भने येशूले भन्‍नुभएझैं ‘यी सबै कुरा हामीलाई दिइनेछ।’ येशूले किन त्यसो भन्‍न सक्नुभयो? त्यसअघिको पदमा उहाँले यसो भन्‍नुभयो: “यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ।” हो, हामीलाई के आवश्‍यक छ, उहाँलाई सबै कुरा थाह छ। हामी हरेकलाई चाहिने गाँस, बास, कपासबारे हामीलाई भन्दा पनि हाम्रो बुबा यहोवालाई राम्रोसँग थाह छ। (फिलि. ४:१९) यहाँसम्म कि अब तपाईंको कुनचाहिं कपडा फाट्‌छ, त्योसमेत उहाँलाई पहिल्यै थाह हुन्छ। हामीलाई कस्तो खाना चाहिन्छ, हाम्रो परिवार बसोबास गर्नको लागि कत्रो ठाउँ चाहिन्छ, यस्तो कुरासमेत उहाँ बुझ्नुहुन्छ। साँच्चै! हामीलाई कुन बेला के आवश्‍यक पर्छ, त्यो उहाँ देख्नुहुन्छ।

१९. भविष्यमा के होला भनेर हामीले किन अचाक्ली चिन्ता गर्नुपर्दैन?

१९ मत्ती ६:३४ पढ्‌नुहोस्‌। याद गर्नुहोस्‌, येशूले दोस्रो पटक यसो भन्‍नुभयो: ‘कहिल्यै चिन्ता नगर।’ यहोवामाथि पूर्ण भरोसा राख्दै हरेक दिनको लागि चाहिने कुराको लागि मात्र चिन्ता गर्नू भनेर येशूले भन्‍न खोज्दै हुनुहुन्थ्यो। यदि कुनै व्यक्‍ति भविष्यमा के होला भनेर अचाक्ली चिन्ता गर्छ भने उसले यहोवामाथि नभई आफैमाथि भरोसा गरिरहेको हुन्छ र यसले गर्दा यहोवासितको उसको सम्बन्ध बिग्रन सक्छ।—हितो. ३:५, ६; फिलि. ४:६, ७.

राज्यलाई पहिलो स्थान दिनुहोस्‌, बाँकी कुरा यहोवाले दिनुहुनेछ

राज्य गतिविधिमा अझ बढी भाग लिन तपाईं आफ्नो जीवन सरल बनाउन सक्नुहुन्छ कि? (अनुच्छेद २० हेर्नुहोस्‌)

२०. (क) तपाईंले यहोवाको सेवा गर्न कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ? (ख) जीवन सरल बनाउन तपाईं के गर्न सक्नुहुन्छ?

२० भौतिकवादी जीवनशैलीलाई निरन्तरता दिन राज्य गतिविधिलाई लत्याउनु व्यर्थको कुरा हो। बरु हामीले आध्यात्मिक लक्ष्यहरू राख्नुपर्छ। उदाहरणका लागि, आवश्‍यकता धेरै भएको ठाउँमा सर्न सक्नुहुन्छ कि? अथवा अग्रगामी सेवा सुरु गर्न सक्नुहुन्छ कि? यदि तपाईं अग्रगामी सेवा गर्दै हुनुहुन्छ भने ‘राज्य प्रचारकहरूका लागि स्कुल’-मा जान आवेदन दिन सक्नुहुन्छ कि? बेथेलमा वा स-साना अनुवाद कार्यालयमा स्वयंसेवा गर्न सक्नुहुन्छ कि? निर्माण स्वयंसेवक वा राज्यभवन निर्माण गर्ने काममा थोरै समय भए पनि सेवा गर्न सक्नुहुन्छ कि? राज्य गतिविधिमा अझ बढी समय बिताउन आफ्नो जीवनशैली कसरी सरल बनाउन सकिन्छ, त्यसबारे सोच्नुहोस्‌। “ जीवनशैली कसरी सरल बनाउने?” भन्‍ने पेटी प्रार्थनापूर्वक विचार गर्नुहोस्‌ र त्यो लक्ष्य हासिल गर्न आवश्‍यक कदम चाल्नुहोस्‌।

२१. हामी कसरी यहोवासित घनिष्ठ हुन सक्छौं?

२१ भौतिक कुराहरूको पछि नलागी परमेश्‍वरको राज्य खोजी गर भनी येशूले सिकाउनुपछाडि जायज कारण थियो। परमेश्‍वरको राज्यलाई पहिलो स्थान दियौं भने हामीले आफ्नो भौतिक आवश्‍यकताबारे कहिल्यै चिन्ता गर्नुपर्ने छैन। यहोवामा भरोसा गरेर अनि आफूसँग क्षमता भए पनि आफ्नो चाहना वा संसारले दिने हरेक कुरा प्राप्त गर्नतिर नलागेर हामी उहाँसँग घनिष्ठ हुन सक्छौं। यसरी अहिले नै आफ्नो जीवन सरल बनाउँदा भविष्यमा पाउने “साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछौं।”—१ तिमो. ६:१९.

^ [१] (अनुच्छेद १२) यहोवाले आफ्ना उपासकहरूलाई कहिलेकाहीं खाने कुराको अभावमा किन पर्न दिनुहुन्छ, त्यसबारे बुझ्न प्रहरीधरहरा, सेप्टेम्बर १५, २०१४, पृष्ठ २२ मा भएको “पाठकहरूको प्रश्‍न” भन्‍ने लेख हेर्नुहोस्‌।