मारोनी नदीमा गरिएको प्रचार अभियान
सहरको भीडभाडबाट धेरै टाढा दक्षिण अमेरिकाको विशाल अमेजन जङ्गलमा विभिन्न जाति, भाषा र राष्ट्रका मानिसहरू बसोबास गर्छन्। त्यसैले जुलाई २०१७ मा १३ जना यहोवाका साक्षीहरूको एउटा समूह मारोनी नदी र यसको फ्रेन्च गुयनामा पर्ने पूर्वी शाखा नदीहरूको यात्रामा निस्के। के को लागि? नदीको छेउछाउमा बस्ने मानिसहरूलाई आशाको सन्देश सुनाउन।
अभियानको तयारी
बाह्र दिने अभियान सुरु हुनुभन्दा एक महिनाअघि यस अभियानमा भाग लिन लागेकाहरू यात्राको योजना बनाउन एक ठाउँमा भेला भए। विन्स्ले यसो भन्छन्: “हामीले त्यो इलाका र त्यहाँको इतिहास अध्ययन गऱ्यौँ अनि यात्राको लागि कसरी तयारी गर्न सक्छौँ, त्यो पनि छलफल गऱ्यौँ।” अभियानमा भाग लिने सबैलाई पानी नछिर्ने झोला दिइयो। त्यसमा झोलुङ्गो र मच्छरदानी राख्न सकिन्थ्यो। अभियानको दौडान दुई चोटि हवाईजहाज चढ्नुपर्थ्यो र डुङ्गामा घण्टौँ यात्रा गर्नुपर्थ्यो।
अभियानमा भाग लिन निम्तो पाएकाहरूले कस्तो महसुस गरे? अवकाश पाइसकेका क्लड र लिजेटले यो निम्तो तुरुन्तै स्विकारे। क्लड भन्छन्: “खुसीले मेरो खुट्टा भुईँमै थिएन। तर कता-कता डर पनि लागिरहेको थियो। त्यस नदीको बहाब एकदमै तेज छ भनेर मैले सुनेको थिएँ।” लिजेटलाई चाहिँ अर्कै कुराको चिन्ता थियो। तिनी भन्छिन्: “मलाई चाहिँ अमेरिन्डियन भाषा कसरी बोल्ने होला भन्ने चिन्ता लागेको थियो।”
अभियानमा भाग लिएका मिखाएललाई पनि त्यस्तै लागिरहेको थियो। उनी यसो भन्छन्: “हामीलाई वायाना जातिका मानिसहरूको विषयमा त्यत्ति थाह थिएन। त्यसैले मैले इन्टरनेटमा तिनीहरूको भाषामा केही शब्दहरू र अभिवादन गर्ने तरिका सिकेँ।”
आफ्नो श्रीमान् योआनसँगै अभियानमा गएकी सर्लीले नदीवरपर बोलिने भाषाहरूको सूची बनाइन्। तिनी भन्छिन्: “हामीले jw.org बाट तीमध्ये धेरैजसो भाषाको भिडियो डाउनलोड गऱ्यौँ र वायाना भाषाको सरल शब्दहरूको किताब पनि पायौँ।”
अमेरिन्डियनहरू बस्ने इलाकामा पुग्दा
मङ्गलबार, जुलाई ४ मा यो समूह सेन्ट-लोरेन्ट डु मारोनीबाट हवाईजहाज चढेर मारिपासौला पुगे। मारिपासौला फ्रेन्च गुयनाको भित्री इलाकामा पर्ने एउटा सानो सहर हो।
त्यसपछिको चार दिन यस समूहले इन्जिनबाट चल्ने पिरोग्स भनिने डुङ्गामा यात्रा गर्दै मारोनी नदीको माथिल्लो शाखा नदीहरूको वरपर अवस्थित गाउँहरूमा प्रचार गऱ्यो। यस समूहका एक जना रोलान्ड यसो भन्छन्: “अमेरिन्डियनहरूले बाइबलमा धेरै चासो देखाए। तिनीहरूले हामीलाई धेरै प्रश्न सोधे र कोही-कोही त हामीसँग बाइबल अध्ययन पनि गर्न चाहन्थे।”
एउटा गाउँमा योआन र सर्लीले एक जवान दम्पतीलाई भेटे। तिनीहरूको एक जना आफन्तले भर्खरै मात्र आत्महत्या गरेको थियो। jw.org मा उपलब्ध एउटा भिडियोबारे उल्लेख गर्दै योआन यसो भन्छन्: “हामीले तिनीहरूलाई एक अमेरिकी आदिवासी आफ्नो सृष्टिकर्तालाई भेट्टाउँछन् भन्ने भिडियो देखायौँ। यस भिडियोले त्यस जवान दम्पतीको मनै छोयो। तिनीहरूले हामीलाई आफ्नो इमेल ठेगाना दिए किनकि तिनीहरू हामीसित सम्पर्कमा रहन चाहन्थे।”
यस समूहको सबैभन्दा टाढाको गन्तव्य आन्टाकुम पाटा थियो। त्यस गाउँका मुखियाले थाकेका साक्षीहरूलाई सार्वजनिक ठाउँमै झोलुङ्गो टाँगेर आराम गर्न दिए। तिनीहरूले स्थानीय मानिसहरूजस्तै नदीमा नुहाए।
त्यहाँबाट यो समूह ट्वेन्के भन्ने गाउँतिर लाग्यो। गाउँलेहरू गाउँकै एक जना व्यक्तिको मृत्युको शोक मनाइरहेका थिए। त्यस अभियानको एक जना आयोजक यसो भन्छन्: “त्यहाँको मुखिया अर्थात् ‘ग्रान्ड म्यान’-ले गाउँमा गएर शोक गरिरहेका गाउँलेहरूलाई सान्त्वना दिन अनुमति दिए। हामीले वायाना बाइबलबाट पढेर सुनाएका शास्त्रपदहरू ती मुखिया र तिनको परिवारले धेरै मन पराए। हामीले तिनीहरूलाई फेरि जीवित हुने बाइबलको प्रतिज्ञाबारे बताइएको भिडियोहरू पनि देखायौँ।”
ग्रान्ड-सान्टि र अपाटौतर्फ
अभियानको दौडान यो समूह मारिपासौलाबाट हवाईजहाजमा आधा घण्टा यात्रा गरेर ग्रान्ड-सान्टि आइपुग्यो। मङ्गलबार र बुधबार तिनीहरूले स्थानीय मानिसहरूलाई बाइबलको सन्देश सुनाए। बिहीबार तिनीहरू अर्को यात्रामा निस्के। मारोनी नदीमा साढे पाँच घण्टाको यात्रा गरेर तिनीहरू अपाटौ भनिने गाउँमा आइपुगे।
अभियान सिद्धिनुभन्दा एक दिनअघि त्यो समूह मरून्स जाति बस्ने जङ्गलका गाउँहरूमा प्रचार गर्न गए। मरून्स जातिका मानिसहरू छिमेकी राष्ट्र सुरिनाम उपनिवेश हुँदा अफ्रिकाबाट दक्षिण अमेरिका ल्याइएका दासहरूको सन्तान हुन्। साक्षीहरूले सभा गर्नको लागि त्यहाँ एउटा ठूलो पाल टाँगे र सबैलाई सभामा निम्तो दिए। क्लड भन्छन्: “थुप्रै मानिसहरू सभामा आएको देखेर हामीलाई धेरै खुसी लाग्यो। हामीले त्यही बिहानी मात्र निम्तो दिएका थियौँ।” अभियानको लागि पहिलोचोटि यति टाढासम्म गएका कार्सटनले औकान भाषामा “के जीवन यति नै हो?” विषयको जनभाषण दिए। विभिन्न गाउँबाट सभामा ९१ जना आए।
“हामी फेरि अभियानमा भाग लिन तयार छौँ!”
अन्तमा यो समूह सेन्ट-लोरेन्ट डु मारोनी फर्कियो। ती ठाउँका मानिसहरूले सकारात्मक प्रतिक्रिया देखाएकोमा समूहका सबै जना औधी खुसी थिए। तिनीहरूले यहोवाका साक्षीहरूद्वारा प्रकाशित थुप्रै प्रकाशन स्विकारे र दर्जनौँ भिडियो हेरे।
लिजेट यसो भन्छिन्: “यस अभियानमा जान पाएकोमा म कत्ति खुसी छु भनेर शब्दमा बयानै गर्न सक्दिनँ।” सिन्डि पनि यसो भन्छिन्: “फेरि अभियानमा जाने मौका पाएँ भने म त्यो मौकालाई हातबाट फुस्कन दिन्नँ। हाम्रो आनन्द महसुस गर्न तपाईँहरू आफै अभियानमा जानुपर्छ।”
अभियानमा गएका कोही-कोही ती ठाउँहरूमै बसाइँ सरेर सेवा गर्न उत्प्रेरित भए। मिखाएल यसो भन्छन्: “हामी फेरि अभियानमा भाग लिन तयार छौँ!” विन्स्ले सेन्ट-लोरेन्ट डु मारोनीमा बसाइँ सरे। साठी वर्ष नाघिसकेका क्लड र लिजेटले पनि अपाटौमा बसाइँ सर्ने निर्णय गरे।