यहोवाका साक्षीहरू धार्मिक गुटको सदस्य हो?
होइन। यहोवाका साक्षीहरू कुनै गुटको सदस्य होइनन्। हामी येशूको उदाहरण पछ्याउन र उहाँको शिक्षाअनुसार जिउन सक्दो कोसिस गर्ने ख्रीष्टियनहरू हौं।
गुट भनेको के हो?
“गुट”-बारे मानिसैपिच्छे फरक-फरक धारणा पाइन्छ। तर अब हामी धेरैजसो मानिसहरूले राख्ने दुईवटा धारणा केलाऔं र त्यो कुरा हामीमा किन लागू हुँदैन भनेर विचार गरौं।
कसै-कसैको विचारमा गुट भनेको कुनै नयाँ धार्मिक समूह वा पहिलादेखि चलिआएको परम्परालाई अस्वीकार गर्ने धार्मिक समूह हो। यहोवाका साक्षीहरूले कुनै नयाँ धर्म सुरु गरेका होइनन्। बरु हामी बाइबलमा रेकर्ड गरिएका प्रथम शताब्दीका ख्रीष्टियनहरूले बसालेको नमुनाअनुसार परमेश्वरको उपासना गर्छौं। (२ तिमोथी ३:१६, १७) कस्तो धार्मिक परम्परा स्वीकार्य छ र कस्तो परम्परा स्वीकार्य छैन भन्ने कुरा धर्मशास्त्रले नै बताउँछ भनेर हामी विश्वस्त छौं।
गुट भनेको कुनै मान्छेको पछि लाग्ने खतरनाक धार्मिक समूह हो भनेर पनि कोही-कोही सोच्ने गर्छन्। यहोवाका साक्षीहरू कुनै मानिसलाई आफ्नो नेता ठान्दैनन्। बरु हामी येशूले आफ्ना अनुयायीहरूलाई भन्नुभएको यो कुरा मनमा राख्छौं: “तिमीहरूका नेता एकै जना हुनुहुन्छ, जो ख्रीष्ट हुनुहुन्छ।”—मत्ती २३:१०.
यहोवाका साक्षीहरू खतरनाक धार्मिक समूह होइनन्। तिनीहरूले मानेको धर्मले तिनीहरूका सदस्यहरूलाई र समाजमा अरूलाई पनि लाभ पुऱ्याएको छ। उदाहरणको लागि हामीले सिकाउने बाइबलको शिक्षाले थुप्रैलाई लागूपदार्थ र मद्यपान जस्ता कुलतहरू त्याग्न मदत गरेको छ। त्यसका साथै हामी संसारका विभिन्न ठाउँमा साक्षरता कक्षा पनि सञ्चालन गर्छौं। यसले गर्दा हजारौं मानिसहरूले लेखपढ गर्न सिकेका छन्। प्रकोपको बेला राहत दिने काममा पनि हामी निकै सक्रिय भएर भाग लिन्छौं। अरूमा राम्रो प्रभाव पार्न हामी सक्दो कोसिस गर्छौं। येशूले आफ्ना अनुयायीहरूलाई यसै गर्ने सल्लाह दिनुभएको थियो।—मत्ती ५:१३-१६.