प्रकाशको पुस्तक—यसको अर्थ के हो?
बाइबलको जवाफ
बाइबलको अन्तिम पुस्तक प्रकाशको ग्रीक नाम ए-पो-क्या-लि-प्सिस (एपोक्यालिप्स) हो जसको अर्थ “पर्दाफास हुनु” वा “प्रकट हुनु” हो। यस नामले प्रकाशको पुस्तकमा कस्तो कुरा बताइएको छ भन्ने कुरा बुझ्न मदत गर्छ। यस पुस्तकमा रहस्यमय कुराहरूको पर्दाफास गरिएको छ अनि भविष्यमा हुने घटनाहरूबारे पनि बताइएको छ। जसमध्ये थुप्रै भविष्यवाणी पूरा हुन बाँकी नै छ।
प्रकाशको पुस्तकलाई सरसर्ती हेर्दा
परिचय।—प्रकाश १:१-९.
येशूले सात वटा मण्डलीलाई दिनुभएको सन्देश।—प्रकाश १:१०–३:२२.
स्वर्गमा परमेश्वर आफ्नो सिंहासनमा बस्नुभएको दर्शन।—प्रकाश ४:१-११.
शृङ्खलाबद्ध दर्शन; हरेक दर्शनले अर्को दर्शनलाई डोऱ्याउँछ:
सात वटा लाहाछाप.—प्रकाश ५:१–८:६.
सात वटा बिगुल, जसमध्ये अन्तिम तीन बिगुलले तीन सङ्कष्टको चेतावनी दिन्छ।—प्रकाश ८:७–१४:२०.
सात वटा कचौरा, हरेकमा एउटा-एउटा विपत्ति छ। ती विपत्तिले पृथ्वीमा परमेश्वरले गर्नुहुने न्यायको कामलाई चित्रण गर्छ।—प्रकाश १५:१–१६:२१.
परमेश्वरका शत्रुहरू नाश भएको दर्शन।—प्रकाश १७:१–२०:१०.
स्वर्ग र पृथ्वीलाई परमेश्वरले आशिष् दिनुभएको दर्शन।—प्रकाश २०:११–२२:५.
समापन।—प्रकाश २२:६-२१.
प्रकाशको पुस्तक बुझ्न ध्यान दिनुपर्ने केही कुराहरू
१. परमेश्वरको सेवा गर्नेहरूका लागि यसमा बताइएका कुराहरू डरलाग्दो वा भयभीत बनाउने खालको नभई खुसीको सन्देश हो। थुप्रैलाई “एपोक्यालिप्स” शब्द सुन्ने बित्तिकै ठूलो प्रकोपको चित्र मनमा आउँछ। तर प्रकाशको पुस्तकको सुरु र अन्तमा भनिएझैं जसले यो पढ्छन्, बुझ्छन् र यसमा दिइएको सल्लाह लागू गर्छन् तिनीहरू खुसी हुनेछन्।—प्रकाश १:३; २२:७.
२. प्रकाशको पुस्तकमा थुप्रै “चिन्हहरू”-बारे चर्चा गरिएको छ जसलाई शाब्दिक अर्थमा बुझ्नुहुँदैन।—प्रकाश १:१.
३. यस पुस्तकमा बताइएको थुप्रै नाम तथा चिन्हहरू बाइबलको अन्य पुस्तकमा पहिल्यै उल्लेख भइसकेका छन्:
यहोवा—‘स्वर्गको परमेश्वर हुनुहुन्छ’ र सबै थोकको सृष्टिकर्ता हुनुहुन्छ।—व्यवस्था ४:३९; भजन १०३:१९; प्रकाश ४:११; १५:३.
येशू ख्रीष्ट—“परमेश्वरको थुमा।”—यूहन्ना १:२९; प्रकाश ५:६; १४:१.
सैतान अर्थात् दियाबल—परमेश्वरको शत्रु।—उत्पत्ति ३:१४, १५; यूहन्ना ८:४४; प्रकाश १२:९.
महान् बेबिलोन—पुरातन बेबिलोन (बाबेल) सहरजस्तै यहोवा परमेश्वर र उहाँका मानिसहरूको शत्रु अनि झूटो धार्मिक शिक्षाको स्रोत।—उत्पत्ति ११:२-९; यशैया १३:१, ११; प्रकाश १७:४-६; १८:४, २०.
“समुद्र”—परमेश्वरको विरोध गर्ने दुष्ट मानिसजाति।—यशैया ५७:२०; प्रकाश १३:१; २१:१.
यस पुस्तकमा उल्लेख गरिएका सामानहरू पुरातन समयमा परमेश्वरको उपासना गर्न प्रयोग गरिएका सामानहरूसँग मिल्दोजुल्दो छ। जस्तै, करारको सन्दुक, काँचजस्तो देखिने समुद्र (पखाल्नको लागि बाटा), बत्तीहरू, धूप अनि बलिदान चढाउने वेदी।—प्रस्थान २५:१०, १७, १८; ४०:२४-३२; प्रकाश ४:५, ६; ५:८; ८:३; ११:१९.
जङ्गली जनावरहरू जसले मानव सरकारलाई चित्रण गर्छ।—दानियल ७:१-८, १७-२६; प्रकाश १३:२, ११; १७:३.
प्रतीकात्मक सङ्ख्याहरू।—प्रकाश १:२०; ८:१३; १३:१८; २१:१६.
४. यी दर्शनहरू “प्रभुको दिन”-को दौडान पूरा हुन्छ। प्रभुको दिन सन् १९१४ मा परमेश्वरको राज्य स्थापित भएपछि सुरु भयो। यही समयदेखि येशू राजाको रूपमा शासन गर्न थाल्नुभयो। (प्रकाश १:१०) त्यसैले प्रकाशको भविष्यवाणीको मुख्य पूर्ति हाम्रो समयमा पूरा हुने आशा गर्न सक्छौं।
५. प्रकाशको पुस्तक बुझ्न पनि बाइबलका अन्य पुस्तक बुझ्न चाहिने कुराहरू नै आवश्यक छ। यसको लागि परमेश्वरले दिनुहुने बुद्धि र बाइबलको कुरा पहिल्यै बुझिसकेका मानिसहरूको मदत चाहिन्छ।—प्रेषित ८:२६-३९; याकूब १:५.