दिनेबारे बाइबलले के सिकाउँछ?
बाइबलको जवाफ
बाइबल हामीलाई राजीखुसीले अनि उचित मनसाय राखेर दिन सिकाउँछ। यसो गर्दा लिने व्यक्ति मात्रै होइन दिने व्यक्ति पनि आनन्दित हुन सक्छ। (हितोपदेश ११:२५; लुका ६:३८) येसुले यसो भन्नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.
कसरी दिँदा परमेश्वर खुसी हुनुहुन्छ?
राजीखुसीले दियौँ भने परमेश्वर खुसी हुनुहुन्छ। बाइबल यसो भन्छ, “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्, मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:७.
मनैदेखि दिनु भनेको उपासनाको एउटा भाग हो र यसलाई परमेश्वर स्विकार्नु हुन्छ। (याकुब १:२७) खाँचोमा परेकाहरूलाई उदार भई मदत गऱ्यौँ भने परमेश्वरसँगै काम गरिरहेका हुन्छौँ अनि यस्तो दयालु कामलाई परमेश्वर आफूलाई सापटी दिएसरह ठान्नुहुन्छ। (हितोपदेश १९:१७) उदार भई दिने व्यक्तिलाई परमेश्वर इनाम दिनुहुन्छ भनी बाइबल सिकाउँछ।—लुका १४:१२-१४.
कसरी दिँदा परमेश्वर मन पराउनुहुन्न?
खराब मनसाय राखेर दिँदा, जस्तै:
अरूलाई देखाउन।—मत्ति ६:२.
केही पाउन।—लुका १४:१२-१४.
पैसा तिरेर मुक्ति पाउन।—भजन ४९:६, ७.
परमेश्वरले मन नपराउनुहुने कामकुराको लागि दिँदा। उदाहरणको लागि, जुवा खेल्न वा लागूपदार्थ सेवन गर्न अनि रक्सी पिउनको लागि कसैलाई पैसा दिन्छौँ भने त्यो गलत हो। (१ कोरिन्थी ६:९, १०; २ कोरिन्थी ७:१) त्यसैगरि, काम गर्ने क्षमता हुँदाहुँदै पनि काम गर्न नचाहने व्यक्तिहरूलाई दिनु उचित होइन।—२ थिस्सलोनिकी ३:१०.
पारिवारिक जिम्मेवारी पूरा गर्न बाधा पुऱ्याउँदा। परिवारको शिरले परिवारको आवश्यकता पूरा गर्नुपर्छ भनेर बाइबलले सिकाउँछ। (१ तिमोथि ५:८) त्यसकारण परिवारको शिरले आफ्नो परिवारको आवश्यकता पूरा गर्न नै नसक्ने गरी अरूलाई दिनु पनि राम्रो होइन। परमेश्वरलाई भेटी अर्पण गरेपछि आफ्नो आमाबुबाको हेरचाह गर्नुपर्दैन भनेर सोच्ने मानिसहरूको येसुले निन्दा गर्नुभयो।—मर्कुस ७:९-१३.