किन प्रार्थना गर्ने? के ईश्वरले मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ?
बाइबलको जवाफ
हो, उहाँले दिनुहुन्छ। बाइबल अनि थुप्रै मानिसहरूको अनुभवले देखाएअनुसार ईश्वरले पक्कै प्रार्थनाको जवाफ दिनुहुन्छ। बाइबल भन्छ: “उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्नुहुनेछ, र तिनीहरूलाई बचाउनुहुनेछ।” (भजन १४५:१९) तर ईश्वरले तपाईंको प्रार्थनाको जवाफ दिनुहुन्छ कि दिनुहुन्न, त्यो कुरा धेरै हदसम्म तपाईं आफैमा भर पर्छ।
ईश्वरलाई कस्ता कुरामा चासो छ
येशू, मरियम, सन्त, स्वर्गदूतहरू वा कुनै मूर्तिलाई नभई ईश्वरलाई प्रार्थना गरेको। किनकि यहोवा मात्रै ‘प्रार्थना सुन्नुहुने’ परमेश्वर हुनुहुन्छ।—भजन ६५:२.
ईश्वरको इच्छाबमोजिम प्रार्थना गरेको। उहाँको इच्छा बाइबल पढेर थाह पाउन सक्छौं।—१ यूहन्ना ५:१४.
येशूको अख्तियारको आदर गर्दै उहाँको नाममा प्रार्थना गरेको। येशूले भन्नुभयो: “मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।”—यूहन्ना १४:६.
पूर्ण विश्वासका साथ प्रार्थना गरेको। आवश्यक छ भने अझ विश्वास बढाइदिन आग्रह गर्नुपर्छ।—मत्ती २१:२२; लूका १७:५.
नम्र भई निष्कपट प्रार्थना गरेको। बाइबल भन्छ: “परमप्रभु अति उच्चमा विराजमान हुनुभए तापनि उहाँले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ।”—भजन १३८:६, NRV.
निरन्तर प्रार्थना गरेको। येशूले भन्नुभयो: “मागिरहो अनि तिमीहरूलाई दिइनेछ।”—लूका ११:९.
ईश्वरलाई कस्ता कुरामा चासो छैन
तपाईंको जात र राष्ट्रमा। “परमेश्वर पक्षपाती हुनुहुन्न, बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।”—प्रेषित १०:३४, ३५.
तपाईंको आसनमा। तपाईं बसेर, निहुरिएर, घुँडा टेकेर वा उठेर प्रार्थना गर्न सक्नुहुन्छ।—१ इतिहास १७:१६; नहेम्याह ८:६; दानियल ६:१०; मर्कूस ११:२५.
चाहे आवाज निकालेर गर्नुहोस् वा मनमनै। अरूले नसुन्ने गरी मनमनै गरेको प्रार्थनाको पनि ईश्वर जवाफ दिनुहुन्छ।—नहेम्याह २:१-६.
चाहे तपाईंको चिन्ता सानो होस् वा ठूलो। ईश्वरले यस्तो आग्रह गर्नुभएको छ: “सारा फिक्री उहाँमाथि बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.