‘एक पटक मुक्ति पाउँदैमा त्यो कहिल्यै गुम्दैन’?
बाइबलको जवाफ
बाइबलले यस्तो शिक्षा सिकाउँदैन। कुनै व्यक्तिले येशू ख्रीष्टमा विश्वास गरेपछि मुक्ति पाउँछ। तर उसको विश्वास कमजोर भयो भने उसले पाएको मुक्ति गुम्न सक्छ। त्यसैले विश्वास बलियो बनाइराख्न ‘परिश्रम गरेर लड्नुपर्छ’ भनी बाइबलले सिकाउँछ। (यहूदा ३, ५) ख्रीष्टमा विश्वास गरेका सुरु-सुरुका ख्रीष्टियनहरूलाई यस्तो सुझाव दिइएको थियो, “आफ्नो उद्धारको निम्ति पनि त्यसरी नै डर र कम्पसहित प्रयत्न गरिरहो।”—फिलिप्पी २:१२.
‘एक पटक मुक्ति पाउँदैमा त्यो कहिल्यै गुम्दैन’ भन्ने शिक्षालाई खण्डन गर्ने शास्त्रपदहरू
गम्भीर पाप गर्ने व्यक्ति परमेश्वरको राज्यमा प्रवेश गर्न पाउनेछैन भनी बाइबलले चेतावनी दिन्छ। (१ कोरिन्थी ६:९-११; गलाती ५:१९-२१) मुक्ति कहिल्यै नगुम्ने हो भने यसरी चेतावनी दिइरहनु आवश्यक थिएन। मुक्ति पाइसकेको व्यक्तिले गम्भीर पाप गऱ्यो भने उसले पाएको मुक्ति गुम्न सक्छ। यसबारे हिब्रू १०:२६ यसो भन्छ, “सत्यको सही ज्ञान पाएपछि यदि हामी जानाजानी पाप गरिरहन्छौं भने हाम्रा पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन।”—हिब्रू ६:४-६; २ पत्रुस २:२०-२२.
येशूले विश्वासमा बलियो भइरहनुको महत्त्वबारे बुझाउन एउटा उदाहरण दिनुभयो। त्यस उदाहरणमा उहाँले आफूलाई दाखको बोट र अनुयायीहरूलाई त्यसका हाँगाहरूसित तुलना गर्नुभयो। कसै-कसैले केही समयको लागि फल फलाएर अर्थात् असल काम गरेर उहाँमाथि विश्वास गरेको देखाउने थिए। तर पछि फल फलाउन छोड्ने थिए। अनि तिनीहरू “फ्याँकिएको हाँगा”-जस्तै हुने थिए अर्थात् तिनीहरूले पाएको मुक्ति गुम्ने थियो। (यूहन्ना १५:१-६) येशूको चेला पावलले पनि यस्तै किसिमको उदाहरण दिए। तिनले विश्वासमा अडिग नरहनेहरू ‘काटिनेछन्’ भने।—रोमी ११:१७-२२.
ख्रीष्टियनहरूलाई ‘जागा रहन’ सल्लाह दिइएको छ। (मत्ती २४:४२; २५:१३) “अन्धकारका कामहरू” गर्नेहरू अनि येशूका आज्ञा पालन नगर्नेहरू आध्यात्मिक तवरमा निदाएकाहरू हुन्। यस्ता व्यक्तिहरूले मुक्ति पाउनेछैनन्।—रोमी १३:११-१३; प्रकाश ३:१-३.
मुक्ति पाइसकेकाहरूले पनि अन्तसम्मै सहिरहनुपर्छ भनेर बाइबलको थुप्रै ठाउँमा बताइएको छ। (मत्ती २४:१३; हिब्रू १०:३६; १२:२, ३; प्रकाश २:१०) सङ्गी ख्रीष्टियनहरूले आफ्नो विश्वासको खातिर अन्तसम्मै सहिरहेको कुरा थाह पाएर प्रथम शताब्दीका ख्रीष्टियनहरू खुसी भए। (१ थिस्सलोनिकी १:२, ३; ३ यूहन्ना ३, ४) अन्तसम्मै नसहीकन पनि मुक्ति पाइने हो भने बाइबलले अन्तसम्मै सहने कुरालाई किन जोड दिन्थ्यो होला र?
पावलले आफ्नो मृत्युको दिन नजिकै छ भनेर थाह पाएपछि मात्र आफूले मुक्ति पाउने कुरामा ढुक्क हुन सके। (२ तिमोथी ४:६-८) तर शारीरिक इच्छाअनुसार चल्यो भने आफूले पाइसकेको मुक्ति गुम्न पनि सक्छ भनेर पावलले बुझेका थिए। त्यसैले तिनले यसो भने, “म आफ्नो शरीरलाई कुट्छु अनि पिट्छु र त्यसलाई दास बनाएर राख्छु, ताकि अरूलाई प्रचार गरिसकेपछि म आफैचाहिं कसै गरी अयोग्य नठहरिऊँ।”—१ कोरिन्थी ९:२७; फिलिप्पी ३:१२-१४.